आज र भोलि बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाउँदै
काठमाडौं, कात्तिक २ - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि सबै जिल्लाका बालबालिकालाई भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाउँदैछ।
मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रमअन्तर्गत देशका सबै नगरपालिका र गाविसका प्रत्येक वडाका तोकिएका केन्द्रमा स्थानीय महिला स्वास्थ्य स्वयम्सेविकाद्वारा भिटामिन 'ए' र जुकाको औषधि खुवाइने कार्यक्रम छ। स्वास्थ्य सेवा विभाग, बालस्वास्थ्य महाशाखाका निर्देशक डा तारानाथ पोख्रेलका अनुसार जन्मेका छ महिनादेखि पाँच वर्षसम्मका करिब ३७ लाख बालबालिकालाई भिटामिन 'ए' र एक वर्षदेखि पाँच वर्षसम्मका करिब ३४ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने कार्यक्रम छ। उनले भने, 'आज खुवाउन छुटेका बालबालिकालाई मात्र कात्तिक ३ गते भिटामिन 'ए' र जुकाको औषधि खुवाइनेछ।'
भिटामिन 'ए' क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यमा करिब ५३ हजार महिला स्वायंसेविका सहभागी हुने बताइएको छ । बाल मृत्युदर घटाउन, भिटामिन 'ए' को कमीबाट हुने आँखासम्बन्धी रोगको रोकथाम गर्न र भिटामिन 'ए' को कमीलाई जनस्वास्थ्यको प्रमुख समस्याका रुपमा रहन नदिन नियमितरुपमा मन्त्रालयले विसं २०५० देखि सो कार्यक्रम वर्षको दुईपटक वैशाख ६ र ७ तथा कात्तिक २ र ३ गते सञ्चालन गर्दै आएको छ।
संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)को एक अध्ययनले मन्त्रालयको सो कार्यक्रमबाट हरेक वर्ष करिब १२ हजार बालबालिका अकाल मृत्युबाट जोगिएको देखिएको थियो। मन्त्रालयले सो कार्यक्रमलाई सहयोग गर्न सम्पूर्ण सरकारी, गैरसरकारी निकाय, नागरिक समाज र राजनीतिक दलसँग आग्रह गरेको छ। रासस
स्रोत :नागरिक न्यूज