|

लुम्बिनीलाई समेत समेटी 'बुद्धिस्ट सर्किट' बनाउने भारतीय योजना

नयाँदिल्ली, आश्विन १५ - भारतले नेपालस्थित बुद्ध जन्मस्थल लुम्बिनीलाई समेत समेटी 'बुद्धिस्ट सर्किट' बनाउने योजना सार्वजनिक गरेको छ । वाराणासीमा आइतबार सकिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन उद्घाटनका क्रममा भारतीय पर्यटनमन्त्री सुवोधकान्त साहेले बुद्धिस्ट सर्किटसम्बन्धी तीन खालका योजना घोषणा गरेका हुन् । यद्यपि भारतले आफ्नो योजनाका लागि नेपाल सरकारसँग समन्वय गरे/नगरेको र जानकारी दिए/नदिएको भन्नेबारे भने उनले बताएनन् ।

साहेका अनुसार यसै वर्ष सुरु हुने १२ औं पञ्चवर्षीय योजनामा विकास गर्ने गरी भारतीय पर्यटन मन्त्रालयले तीन खालको बुद्धिस्ट सर्किटको योजना बनाएको छ । धर्मयात्रा नाम दिइने पहिलो सर्किट ५ देखि ७ दिने यात्रा हुनेछ, जसमा बोधगया, वाराणासी (सारनाथ), कुशीनगर, पिपरहवा र नेपालको लुम्बिनी समेटिने छन् । विस्तारित धर्मयात्रा नाम दिइने दोस्रो सर्किट १० देखि १५ दिनको यात्रा हुनेछ, जसमा बोधगयाका स्थानहरू नालन्दा, बारबारा गुफा, प्रागबोधी पर्वत र गया, पटनाका विभिन्न स्थान, पिपरहवास्थित केही स्थल र नेपालको लुम्बिनी पर्नेछन् । दुवैमा लुम्बिनीलाई एक दिनको भ्रमणमा सीमित गरिएको छ । तर तेस्रो सर्किटमा नेपालको लुम्बिनी समेटिएको छैन । जम्मु कस्मीरका लद्दाख, श्रीनगर र जम्मु हुँदै हिमाञ्चल प्रदेशका धर्मशाला, स्पिटी, किनौर र लाहौल तेस्रो सर्किटमा छन् ।

सर्किट विकास गरी थप बौद्ध धर्मावलम्बी तथा पर्यटकलाई आकर्षण गर्ने योजना भारत सरकारको छ ।

नेपालले लुम्बिनीमा बुद्धिस्ट सर्किट बनाउने योजनाबारे पटक-पटक छलफल गर्दै आए पनि कामहरू खासै अघि बढेका छैनन् । कपिलवस्तु, रूपन्देही र नवलपरासी जिल्लालाई समेटी बुद्धिस्ट सर्किट बनाउने अवधारणामा सघाउन नेपालले पछिल्लो पटक चीन सरकारलाई आग्रह पनि गरेको थियो ।
स्रोत :कांतिपुर

Posted by Anonymous on 6:30 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "लुम्बिनीलाई समेत समेटी 'बुद्धिस्ट सर्किट' बनाउने भारतीय योजना "

Leave a reply