गजल
|||१|||
देख्दैछु आजकाल ज्ञानी बिग्रिएको
भन्छन् तैले देख्ने नानी बिग्रिएको ।।
प्रगति केहि गर्न सक्दैनन् र त
सुनिन्छ बार्तामा कुराकानी बिग्रिएको ।।
नेपाली युवाहरु को नै सप्रिएको छ र
त्यसैले दीपित जानी जानी बिग्रिएको ।।
मर्नु न बाँच्नुको दोसांधमा आएपछि
बल्ल हेक्का भयो जिन्दागानी बिग्रिएको ।।
पहिले त साह्रै सोझो थियो मेरो साथी
तीनछक्क परो देखेर बानी बिग्रिएको ।।
|||२|||
मदिरा र मेरो संगत क्या गजबको छ
नपिएर नहुने लत क्या गजबको छ ।।
आफ्नो भलाईको लागि मेरो आगन भत्काउने
हेर्नुस उसको हर्कत क्या गजबको छ ।।
जसले गरुङ्गो आश्वासन मात्र दिन्छ
उसकै पछाडि बहुमत क्या गजबको छ ।।
रोडपतिबाट करोडपति बन्ने दाउको
स्वार्थ लुट्ने सपथ क्या गजबको छ।।
मुचुल्का नउठाई मृतक लासको
गराईएको सनाखत क्या गजबको छ ।।
धेरै ठाऊँमा ठक्कर खांदा पनि यो मन
बहकिरहने अनवरत क्या गजबको छ ।।
गजलकार : दीपेन्द्र दीपित हमाल (अनुराग)
ठेगाना : सुर्खेत जिल्ला उत्तरगंगा गा.वि.स. वडा नं. ८, गण्डकिटोल
संलग्नता : बुलबुले एफ.एम. १०३ विन्दु ४ मेगाहर्ज, सुर्खेत