पाँच दिने पिस कर्पस् तेक्वान्दो तालिम सम्पन्न
पोखरा, १ भदौ।कास्की जिल्ला तेक्वान्दो सङ्घको आयोजना, नेपाल तेक्वान्दो सङ्घको संयोजन तथा विश्व पिस कर्पस्को सहयोगमा पोखरामा सञ्चालित पिस कर्पस तेक्वान्दो तालिम–२०१२ शुक्रबार सम्पन्न भयो। सो अवसरमा प्रमुख अतिथि तालिममा अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य एवं बुमर्याङ होटलका प्रोप्राइटर गणेशबहादुर भट्टराई, वरिष्ठ तेक्वान्दो प्रशिक्षक एवं तालिम संयोजक अर्जुन विक, सङ्घका अध्यक्ष जगन बहादुर गुरुङलगायतले प्रशिक्षणमा सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। यस्तै तेक्वान्दोको फस्ट डान र सेकेण्ड डानको परीक्षामा उत्तीर्ण २० जना खेलाडीलाई दक्षिण कोरिया कुकिवानबाट प्राप्त प्रमाणपत्र प्रदान गरिएको थियो।
सङ्घको माहतहतमा कास्की जिल्लामा सञ्चालित विभिन्न डोजाङ तथा स्कुलका सिनियर जुनियर गरी करिब एक सय खेलाडीको सहभागिता रहेको थियो। उनीहरूलाई विश्व तेक्वान्दो महासङ्घअन्तर्गत पिस कोर्पस् फाउन्डेसनबाट आएका चारजना दक्षिण कोरियाली प्रशिक्षकले बिहान डेढ घण्टा र सााझ डेढ घण्टा गरी पााच दिनसम्म तेक्वान्दो एरोविक, पुम्से, खेरोगी स्पायरिङ र बेसिक टेक्निकसम्बन्धी प्रशिक्षण दिनेछन्। तेक्वान्दो एरोविक नेपालमा पहिलोपटक आएको सङ्घका सचिव प्रेमनारायण न्यौपानेले जानकारी दिए।
योङ इन युनिभर्सिटीका विद्यार्थी सोङ् थ्ङ छो, जनजु युनिभर्सिटीका विद्यार्थी पार्क जि यन र खिन थे यन तथा सनमुन युनिभर्सिटी कलेजका विद्यार्थी खिन थे थोङ्ले प्रशिक्षण दिएका थिए।
तालिममा सहायक प्रशिक्षकद्वय सुनबहादुर लामा र बलराम लामा, डोजाङ प्रमुख ललितबहादुर धामी, कुमार गुरुङले सहयोग पुर्याएका थिए। समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय सदस्य एवं बुमर्याङ होटलका प्रोप्राइटर गणेशबहादुर भट्टराईले विगतमा तेक्वान्दो खेलमार्फत नेपाली खेलाडीहरुले नेपाल र नेपालीलाई विश्वमा चिनाउने काम गरेको भन्दै आगामी दिनमा पनि त्यसलाई कायमै राख्ने विश्वास व्यक्त गरे।
सो अवसरमा वरिष्ठ तेक्वान्दो प्रशिक्षक एवं तालिम संयोजक अर्जुन विकले पिस कर्पस्को बारेमा प्रकाश पारेका थिए।कास्की जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष जगन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा सहसचिव निर्मला बरालले स्वागत मन्तव्य राखेकी थिइन् भने कोषाध्यक्ष ललितबहादुर धामीले कार्यक्रम सञ्चालन गरेका थिए। यसअघि यो तालिम काठमाडौं, ललितपुर र भक्तपुरमा एकमहिना सञ्चालन भइसकेको छ। यसपटक यो तालिम दोस्रो चरणको हो। गत वर्ष पहिलो चरणको तालिम काठमाडौं र पााचै विकास क्षेत्रमा सञ्चालन गरिएको थियो।