|

इटालीद्वारा काठमाडौं महानगरपालिकालाई दुइटा दमकल हस्तान्तरण

काठमाडौं, भाद्र ४ - इटालीको बुजेन बुल्जोन राज्यले काठमाडौं महानगरपालिकालाई दुइटा दमकल हस्तान्तरण गरेको छ । आगलागी नियन्त्रण र खोज तथा उद्धारका सामग्री सहयोग स्वरूप हस्तान्तरण गरेको हो । राज्यका ब्रिगेड चिफ अर्नस्ट प्रेयरले महानगरका कार्यकारी अधिकृत केदारबहादुर अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

भर्‍याङ एक थान, हेभी रेस्क्यु ट्रक एक थान, लाइट रेस्क्यु ट्रक एक थान र जिप सहयोग गरेको हो । महानगरको विद्यमान भौतिक संरचनामा दमकल अति उपयोगी भएको कार्यकारी अधिकृत अधिकारीले बताए । सानो दमकल चार सय लिटर पानी राख्ने क्षमता भएकाले भित्री सहरी क्षेत्रमा निकै उपयोगी हुने उनले बताए । अन्य मुलुकमा आगलागी नियन्त्रण काम गर्ने कर्मचारी खोज तथा उद्धारको समेत गर्ने भए पनि नेपालमा त्यस्तो सुरुवात नभएको उनले बताए । त्यसका लागि हेभी रेस्क्यु ट्रकको आवश्यकता भएको उनको भनाइ थियो ।

ट्रकमा भौतिक संरचना भत्किँदा वा सवारी साधन दुर्घटना हुँदा च्यापिएका व्यक्तिलाई बाहिर निकाल्न प्रयोगमा आउने हाइड्रोलिक उपकरण जडित छन् । यसमा क्रेनसमेत जडित भएकाले दुर्घटनामा परेका सवारी साधनसहित उठाउन सकिन्छ ।

ठूलो दमकल २ हजार २ सय लिटर पानी र ४ सय लिटर फम क्षमताको छ । यो दमकलमा आगो नियन्त्रण गर्दा मनिटरको प्रयोग गरिन्छ । ३० मिटर अग्लो भर्‍याङ अग्ला घरमा आगलागी भए प्रयोग गर्न सकिन्छ ।

अब महानगरमा दमकलको संख्या छ पुगेको छ । प्रमुख बुजेन बुल्जोले महानगरलाई आवश्यकताअनुसार अन्य सहयोगसमेत गर्न सकिने बताए । उनले दमकल सञ्चालनका लागि कर्मचारीलाई तालिम दिन सकिनेसमेत बताए । महानगरले यस आर्थिक वर्षदेखि विपद् व्यवस्थापन शुल्क संकलन गर्न सुरु गरेको छ । यसरी संकलन गरिएको कर विपद् व्यवस्थापन कोषमा जम्मा गरी आगलागी नियन्त्रण गर्न सहरका छ स्थानबाट दमकल सेवा सञ्चालन गरिनेछ ।(समाचार कांतिपुर बाट)

Posted by Butwalonline on 9:29 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "इटालीद्वारा काठमाडौं महानगरपालिकालाई दुइटा दमकल हस्तान्तरण"

Leave a reply