अविरल वर्षासँगै आएको बाढी र पहिरोले शुक्रबार १० जनाको मृत्यु
काठमाडौ, श्रावण २० - अविरल वर्षासँगै आएको बाढी र पहिरोले शुक्रबार १० जनाको मृत्यु भएको छ भने चार बेपत्ता भएका छन् । दाङका हजार घर डुबानमा परेका छन् भने त्यहाँ बगेर दुई महिला र उद्धारमा गएका एक प्रहरीले ज्यान गुमाएका छन् । गुल्मीमा घर बगाउँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । बाजुरामा दाजुभाइ नै बगेर बेपत्ता भएका छन् । पर्वतको नहरमा खस्दा एक बालकले ज्यान गुमाएका छन् । बागलुङमा बाढीबाट एक महिलाको मृत्यु भएको छ भने दुई पुरुष बेपत्ता छन् । मकवानपुरमा पनि बगेरै एकको मृत्यु भएको छ । कैलालीका केही गाउँ र बर्दिया राजापुरमा पनि दुई सय घर डुबानमा छन् । नेपालगन्ज नगरक्षेत्र जलमग्न छ । मनाङको धारापानी-१ तालगाउँ डुबानमा पर्दा चार सय गाउँले विस्थापित भएका छन् । म्याग्दीमा चार घर र दुई गोठ पुरिएका छन् । चर्चित तातोपानी कुण्ड पुरिएको छ । मनाङको तालगाउँमा पसेको बाढीले एक जनालाई घाइते बनाएको छ । त्यहाँका बासिन्दा सेनाको ब्यारेकमा शरण लिएर सुरक्षित भएका थिए ।
स्रोत कांतिपुर
स्रोत कांतिपुर