|

साताको ४५ घन्टा लोडसेडिङ


काठमाडौ, भाद्र ४ - बर्खामा लोडसेडिङको समय घटाउने विद्युत् प्राधिकरणले यस पटक भदौमै बिजुली काट्ने समय बढाएको छ । वर्षामै साताको ३५ घन्टा बिजुली नपाएका सर्वसाधारण अब ४५ घन्टा अँध्यारोमा बस्नुपर्ने छ । प्राधिकरणले सोमबारदेखि लागू हुने गरी थप विद्युत् कटौती गरेको हो ।

'कुलेखानी जलाशयमा गत वर्षको भन्दा न्यून पानी जम्मा भएको र माग अत्यधिक बढेकाले लोडसेडिङको समय बढाउनुपरेको,' प्राधिकरणद्वारा जारी सूचनामा उल्लेख छ । मुलुकका जडित आयोजनाबाट बर्खामा बढीमा ५ सय ५० मेगावाट बिजुली उत्पादन हुन्छ । तर वास्तविक उत्पादन भने ५ सय मेगावाटको हाराहारीमा भएको प्राधिकरणको भनाइ छ ।

माग भने हजार मेगावाटको हाराहारीमा पुगेको छ । भारतबाट करिब एक सय मेगावाट बिजुली आयात भइरहेको छ । तर पूर्वबाट आउने बिजुली भने एक सतायता ३५ मेगावाटले कटौती भएको छ । यसले लोडसेडिङ बढाएको प्राधिकरणको भनाइ छ । भारतमा केहि साता अघि एकाएक बिजुली गए पछि नेपाल आउनेमा कटौती गरिएको अधिकारीहरु वताउछन ।

उत्पादन र आपूर्तिबीचको उक्त खाडलले सर्वसाधारणको दैनिकी प्रभावित भएको छ । गत वर्ष ८ मेगावाट मात्रै बिजुली थपिएको थियो । अघिल्लो २ वर्षमा जम्मा १० मेगावाट थपिएको थियो ।

कुलेखानी नभरिएकाले यसपटकको हिउँदमा चर्को बिजुली कटौती हुने देखिएको छ । बर्खाको मौसममा कुलेखानीको पानी भने चलाइँदैन । उक्त आयोजनामा २ वटा प्लान्टबाट करिब ९० मेगावाट बिजुली उत्पादन गर्न सकिन्छ । जलाशयमा बढीमा १५ सय ३१ मिटरसम्म पानी जम्मा गर्न सकिन्छ । तर १५ सय १५ मिटर मात्रै पानी जम्मा भएको छ ।

यसपटकको हिउँदमा भने लोडसेडिङको समय गणना गरी नसकिएको प्राधिकरणका अधिकारी बताउँछन् । गत वर्षको प्रक्षेपण अनुसार दिनको २१ घन्टासम्म लोडसेडिङ हुने अनुमान थियो । तर भारतबाट थप १ सय मेगावाट आयात गर्न सकिए समय घट्ने प्राधिकरणको दाबी छ । उक्त बिजुली आयात गर्न कटैयादेखि भारतको कुसाहासम्म प्रसारणलाइन बनाउनुपर्ने छ । यसको लम्बाइ १५ किलोमिटर मात्रै छ । तर अहिलेसम्म प्रक्रिया सुरु नभएकाले मंसिरसम्म बिजुली आउनेमा प्राधिकरणकै कर्मचारी विश्वस्त छैनन् ।
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 4:17 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साताको ४५ घन्टा लोडसेडिङ"

Leave a reply