शिक्षक तथा सुरक्षाकर्मीबीच आज भएको झडपमा ५९ शिक्षक घाइते
काठमाडौँ, भदौ १२ - सेवासुविधाको माग गर्दै केशरमहलस्थित शिक्षा मन्त्रालयमा घेराउ तथा धर्ना दिने क्रममा पुगेका विभिन्न शिक्षक तथा सुरक्षाकर्मीबीच आज भएको झडपमा ५९ शिक्षक घाइते भएका छन्।
प्रतिविद्यार्थी लागत शिक्षक सङ्घर्ष समितिले विभिन्न समयमा मन्त्रालयसँग गरेका सहमतिको कार्यान्वयनको माग गर्दै समयसापेक्ष तलब वृद्धि, शिक्षकको स्थायित्वलगायतका सामाजिक सुरक्षा माग गरी घेराउ गर्ने क्रममा सुरक्षाकर्मीसँग झडप भएको हो। झडपमा परी कमलेश कुशवाह, चन्द्रिका साह, शान्ति शर्मा, कल्पना खरेललगायतका आठ शिक्षक गम्भीर घाइते भएको र अन्य शिक्षक सामान्य घाइते भई उनीहरुको अहिले काठमाडौँका वीर अस्पतालमा उपचार भइरहेको सङ्घर्ष समितिका संयोजक अरुण सिंहले बताए।
नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष गुणराज लोहनीले 'शान्तिपूर्ण रुपमा आफ्नो माग राख्दै गरेका शिक्षकमाथि भएको प्रहरी दमन'को भर्त्सना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे। देशभरका सामुदायिक विद्यालयमा भर्ना भएका विद्यार्थीबाट उठेको शुल्कका आधारमा मासिक रु एक हजार ५०० देखि रु दुई हजार ५०० सम्म तलब पाउने शिक्षक करिब १२ हजार रहेको अध्यक्ष लोहनीले जानकारी दिए। - रासस
समाचार नागरिक न्यूज बाट