|

अब टीसर्टद्वारा मोबाइल चार्ज गर्न सकिने


वैज्ञानिकहरुले यस्तो टिसर्टको आविष्कार गरेका छन् जसले विद्युतिय उर्जा संचित गर्नसक्छ । यसरी विद्युत उर्जा संचित गर्न सक्ने टिसर्टको माध्यमबाट मोबाइल फोनका साथै अन्य ग्याजेटहरुको समेत ब्याट्री चार्ज गर्न सकिने बताइएको छ ।

अमेरिकाको साउथ क्यारोलिनाका वैज्ञानिकहरुले यस्तो प्रविधिको विकाश गरेका हुन् । उनीहरुले अब छिटै नै टिसर्टबाट चार्ज हुने ल्यापटप तथा स्मार्टफोन बजारमा आउने समेत बताएका छन् ।

अनुसन्धानको क्रममा प्राध्यापक जियाओडोङ ली र शोधकर्ता लिहोंग बाओले बजारबाट किनिएको एउटा टिसर्टलाई फ्लोराइडको घोलमा चोपेर सुकाइ अक्सिजन नभएको ओभनमा निकै उच्च तापक्रममा पोलेका थिए । त्यस्तो उच्च तापक्रममा उक्त टिसर्टको धागोको रेसामा रहेको सेलुलोज भन्ने पदार्थका कार्वन अणुहरु एक्टिभेटेड अर्थात् रासायनिक रुपमा सक्रिय बने । यसरी कार्वन अणुहरु एक्टिभेटेड भएको उक्त टिसर्टका रेसाहरुले इलेक्ट्रोडको काम गर्ने र समग्र टिसर्टले विद्युत चार्ज संचित गर्ने क्यापासिटरको काम गर्ने अनुसन्धानकर्ताहरुले प्रमाणित गरे । यसरी यस्तो टिसर्टको रेसालाई म्यांगानिज अक्साइडको लेपन लगाएमा त्यसको चार्ज संचिति क्षमता उच्च हुने र उक्त टिसर्ट उच्च क्षमताको क्यापासिटर बन्ने उनीहरुको भनाइ छ । यसरी टिसर्टबाट बन्ने क्यापासिटरलाई उनीहरुले सुपर क्यापासिटरको नाम दिएका छन् । यसरी टिसर्टको रुपमा रहेको सुपर क्यापासिटरबाट निश्चित डिभाइसको प्रयोग गरी मोबाइल लगायतका ग्याजेटको ब्याटि्र चार्ज गर्न सकिने उनीहरुको ठम्याइ छ ।

‘हामीले रेसादार कपडा लगाउँछौँ । कुनै दिन हामीले लगाउने कटनको टिसर्ट केबल सरीर छोप्ने कामका लागि मात्र उपयोग हुनेछैन, यो उर्जा संचित गर्ने यन्त्र बन्नेछ जसले तपाइँको सेल फोन र आइप्याड चार्ज गर्नेछ’, अनुसन्धानकर्ता ली को भनाइ छ ।
साभार ऑनलाइन खबर

Posted by Butwalonline on 8:03 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अब टीसर्टद्वारा मोबाइल चार्ज गर्न सकिने"

Leave a reply