|

विदेशमा ज्यान गुमाउँनेको संख्या बढ्दो

बाग्लुङ, साउन ५- करिब १७ लाख रुपैयाँ खर्चेर धन कमाउन अस्ट्रेलिया पुगेका बाग्लुङ नगरपालिका-२ का राजेश खड्काको यसै साता दुर्घटनामा मृत्यु भयो। कमाउन गएका आधार नै नरहेपछि श्रीमती पूजा र छोराको भविष्य अन्योलमा छ।

'कमाउन गएको भाइको अकल्पनीय ढंगले दुखद निधन भयो,' मृतकका दाजु अमरबहादुरले भने, 'बुहारीको भावी जीवन अप्ठ्यारोमा पर्यो ।' पतिको मृत्युपछि छोरालाई कसरी शिक्षादीक्षा दिने र आउँदा दिन कसरी बिताउने भन्ने चिन्तामा छिन् पूजा। शव ल्याउँदा धेरै खर्च लाग्ने भएपछि उतै दाहासंस्कार गर्न लगाएको अमरले बताए। 

रोजगारका लागि बिदेसिएका युवाहरुले ज्यान गुमाउने क्रम बढेको छ। लाखौँ रुपैयाँ खर्चेर विदेश गएका आफन्तको मृत्युपछि परिवारको जीवन कष्टकर बनेको छ। 

साउदी अरब पुगेको चार महिनामै जिल्लाको छिस्ती- ३ रिठाबोटका २३ वर्षीय राजु क्षेत्रीको मृत्यु भएपछि उनका वृद्ध बाबुआमा बेसहारा भएका छन्। 'पैसा आउने बेलामा छोरा मरेको खबर आयो,' बाबु सकसबहादुरले भने, 'ऋण तिर्दा घरजग्गाको उठीबास हुने भयो।' कमाइ आउने समयमा छोराको शव कुरेर बसिरहेका छन् सकसबहादुर। साउदी अरबको इलेटि्रक कंक्रिट कम्पनीमा काम गर्ने क्षेत्रीको गत जेठ २८ गते मृत्यु भए पनि शव अझै यता ल्याउन सकिएको छैन। एक्लो छोरोको मृत्युपछि उनीहरुको हेरचाह गर्ने कोही छैन।

ऋणधन गरेर लाखौँ खर्चिएर विदेश पुगेका निम्नवर्गीय परिवारको युवाको मृत्युपछि ऋण तिर्न र परिवार चलाउन परिवारलाई हम्मे छ। सामान्य आर्थिक हैसियतमा अधिकांश नेपालीहरुको एकजनाको कमाइले परिवार धानिने गरेको छ। मुख्य मान्छेको मृत्युपछि विदेश जाँदा खर्चिएको ऋण तिर्न परिवारले घरजग्गा बेच्ने गरेका छन्। पतिको विदेशमा मृत्युपछि छिस्तीकी विष्णुमायाले जग्गा बेचेर विदेश जाँदाको ऋण तिरिन्। बाबुको मृत्युपछि छोराछोरीले स्कुल छाडेर अरुको भारी बोकेर पेट पाल्दै आएका छन्।

गत अक्टोबरमा बागलुङ गल्कोटका ३३ वर्षीय चन्द्र घर्तीमगरले जापान पुगेकै दुई महिनामा आफ्नो ज्यान गुमाए। बागलुङ मल्म-७ का हुलुवाका विष्णु (ललित) साहनीले जुलाईको पहिलो साता जापान टोकियोको साइतामाकेनमा आफू बस्दै आएको घरमा नै आत्महत्या गरे। दुर्घटनासँगै युवाहरुले विभिन्न कारणले आत्महत्या गर्ने घटना पनि बढेका छन्। कमाउन गएका युवाले सोचेअनुसारको आम्दानी नहुने, गएको ऋण तिर्न नसक्ने, परिवारले धेरै आम्दानीको अपेक्षा गर्ने भएकाले तनावमा आत्महत्या गर्ने गरेका छन्।

विदेशमा मृत्यु भएका नेपालीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले दैनिक तीन-चार शव आउने गरेको वैदेशिक प्रवर्द्धन रोजगार बोर्डले जनाएको छ। कतिपयले यहाँ शव ल्याउन रकम लाग्ने भएपछि सम्बन्धित देशमा रहेका गैरआवासीय नेपाली सम्पर्क समितिसँग अनुरोध गरेर उतै अन्तिम संस्कार गराउँछन्। विभिन्न देशमा दुई वर्षको अवधिमा बाग्लुङका ३६ युवाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, बाग्लुङले जनाएको छ।

दुर्घटनामा मृत्यु हुँदा एक युवाको विदेशमा मृत्युपछि उसको परिवारमा न्यूनतम ३ देखि ५ लाख क्षति हुने प्रवासी नेपाली समन्वय समितिका अध्यक्ष महेन्द्र पाण्डेले बताए। 'आफन्त गुमाउँदा परिवारमा पर्ने दीर्घकालीन क्षति रकमसँग तुलना गर्न मिल्दैन,' पाण्डेले भने, 'तत्काल तीनदेखि पाँच लाखसम्म नोक्सान भएको हुन्छ।'

युवाहरु पूर्व तयारी नअपनाई विदेश जाँदा भाषाको ज्ञानको अभाव, कारखानामा काम गर्दा सीप नहुँदा, सडक काट्दा, मानसिक यातनाले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले जनाएको छ। एक युवा गुमाउँदा परिवार र राष्ट्रलाई समेत ठूलो क्षति पुग्ने बोर्डका निर्देशक टीका भण्डारीले बताए। 'मुलुकभित्रै पनि केही गर्न सक्ने युवा विदेशमा पुगेर ज्यान गुमाएका छन्,' भण्डारीले भने, 'अधिकांशको मृत्यु आवश्यक सीप र भाषाका कारण हुने गरेको छ।'
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 5:20 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विदेशमा ज्यान गुमाउँनेको संख्या बढ्दो"

Leave a reply