|

आर्थिक अभावमा उपचार नपाएर पन्ध्र दिनकी सुत्केरीको मृत्यु

विराटनगर, साउन १०- विराटनगर उपमहानगरपालिकामै उपचार नपाएर पन्ध्र दिनकी सुत्केरीको ज्यान गएको छ। बिरामले च्याप्नेवित्तिकै अस्पताल पुर्‍याइए पनि उपचार पाउन नसक्दा कटहरी-५, मोरङकी १८ वर्षीया रूपादेवी ऋषिदेवको मंगलबार बिहान घरमा मृत्यु भएको हो।

विराटनगर-५, खारजीस्थित माइतमा रूपाको बिहान ५ बजे मृत्यु भएको थियो। आफन्तका अनुसार सोमबार विहान बिरामी भएकी रूपालाई कोसी अञ्चल अस्पताल र त्यसपछि नोबेल अस्पताल लगियो। तर अञ्चलकै ठूलो सरकारी अस्पताल कोसी र पूर्वाञ्चलकै सुविधासम्पन्न मानिएको नोबेल अस्पतालमा रूपाको उपचार हुन सकेन। आर्थिक अवस्था दयनीय भएकी रूपालाई दिउँसो २ बजे कोसी लगिएको थियो। त्यहाँ डाक्टरले आइसियुमा राखेर उपचार गर्नुपर्ने सुझाव दिए। लगत्तै आफन्तले नोबेल अस्पताल लगे।

नोबेलले आइसियुमा राख्नका लागि भर्ना शुल्क मात्र सात हजार रूपैयाँ लाग्ने र त्यसपछि दैनिक तीन हजार रूपैयाँ लाग्ने बतायो। तर भर्ना गराउन र दैनिक तीन हजार रूपैयाँ तिर्न तत्काल आफन्तसँग पैसा थिएन।

'घरमा दुधालु गाई छ, त्यै बेचेर पनि तिर्छुभन्दा भर्ना गर्नै मानेनन्,' रूपाका बाबु चमरू ऋषिदेव अनुसार'राति १० बजेसम्म अस्पतालमै राख्यौं, तर भर्ना नगरेपछि घरमा ल्याएको सात घन्टापछि छोरीको मृत्यु भयो।' उनका अनुसार कटहरीस्थित घरमै सुत्केरी भएकी रूपालाई मंगलबार एक्कासि पेट पोल्ने समस्या आएको थियो, त्यसअघि उनी स्वस्थ थिइन्।

पेट पोल्ने समस्याले रूपा गम्भीर भएपछि कोसीमा लगिएको थियो। कोसी अस्पतालले उनको पेट पोल्नुको कारणै पत्ता नलगाई अर्को अस्पताल लैजान सुझाव दिएको थियो। कोसी अञ्चल अस्पतालको सोमबारको रेकर्डअनुसार रूपालाई आकस्मिक वार्डबाट सोझै अन्यत्र रेफर गरिएको छ। 'यस्तो-उस्तो केही रोग पत्ता लागेको रेकर्ड भेटिएन,' स्रोतले भन्यो, 'भर्ना नै नगरी ल्याउनेबित्तिकै रेफर गरेको मात्र देखिन्छ।'

आर्थिक अवस्था नाजुक भएका रूपाका माइती र श्रीमान गोविन्द दैनिक मजदुरी गर्छन्। ऐलानी जमिनमा बस्ने उनीहरूको फुसको घरबाहेक केही छैन। सोमबार रूपाको घर र माइती पक्षका कसैसँग नोबेल अस्पतालले भनेजति रूपैयाँ तिरेर भर्ना गराउने पैसा थिएन। 'सात हजारमात्र पैसा भएको भए ज्यान जाने थिएन,' चमरूले भने, 'भर्ना गर्दै गर्नू, पैसा दिइहाल्छु भनी रातिसम्म राख्दा पनि उपाय नलागेपछि घर फर्कायौं।' आमाको मृत्यु भएपछि १५ दिने नवजात शिशु (छोरा)को बिचल्ली भएको छ। स्वस्थ रहेको उक्त शिशुलाई कसरी हुर्काउने भन्ने चिन्ताले आफन्त पिरोलिएका छन्।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 7:48 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आर्थिक अभावमा उपचार नपाएर पन्ध्र दिनकी सुत्केरीको मृत्यु"

Leave a reply