|

पैसा लिएर नक्कली नियुक्तिपत्र ,जागिर पनि नक्कली


कपिलवस्तु, श्रावण १० - रूपन्देही र कपिलवस्तुको एक समूहले नक्कली नियुक्तिपत्र उपलब्ध गराएर लुम्बिनी विकास कोषमा जागिर लगाएको बताउँदै यहाँका ९ जनासित ८ लाख २२ हजारभन्दा बढी रकम असुलेको खुलेको छ । दुई जिल्लाका तीन जनाले जागिरको प्रलोभनमा पारेर रकम असुल गरेका थिए ।

रूपन्देहीको मसिना-४ का गब्बर भन्ने मोहम्मसई मुसलमान, कपिलवस्तुको लबनी-२ स्थित ससुरालीमा बस्दै आएका गोविन्दप्रसाद भण्डारी र त्यहीं बसोबास गर्ने रावण भन्ने नुरमोहम्मद धुनियाले दुई जिल्लाका सर्वसाधारणलाई सुरक्षा गार्ड र खरिदारमा जागिर मिलाइदिने भन्दै रकम असुलेका थिए । धुनियाको नेतृत्वमा बाँकी दुईले रकम संकलन गरेका थिए । रकममध्ये ७० प्रतिशत धुनियाले पाएका छन् ।

फुलिका-६ का राजेश बरईले सुरक्षा गार्डका लागि ७२ हजार, त्यहींका राघवेन्द्र बरईले एक लाख ७ हजार, लक्ष्मण तिमिल्सिनाले १६ हजार र लोकनाथ बरईले ५० हजार रकम दिएका थिए । त्यस्तै, रामलाल कोहारले ३२ हजार ५ सय, रञ्जितकुमार चौरसियाले ८२ हजार र सुरेश कहारले ७० हजार रकम दिएको प्रहरी निरीक्षक रवि रावलले बताए ।

रकम दिएपछि उनीहरूलाई नक्कली लेटरप्याड र छाप बनाएर नियुक्तिपत्र र परिचयपत्र बाँडिएको थियो । सहमतिअनुसार कसैलाई गार्ड र कसैलाई खरिदार पदको नियुक्तिपत्र दिइयो । नियुक्तिपत्र पाएपछि खुसी भएका उनीहरूलाई एक सातापछि बोलाएर काम गर्न लगाइयो ।

सबैलाई कोषको ७ नं. गेटमा ड्युटी खटाइएको थियो । गिरोहका तीनमध्ये दुई जना बस्थे । जागिर पाएका रमाउँदै गए । ड्युटी गर्न थालेको एक महिनापछि तलब पाउन अझ केही समय लाग्ने भनेपछि मनमा चिसो पसेको सुरक्षा गार्डमा नियुक्ति पाएका राजेश बरईले बताए । दुई महिनासम्म पारिश्रमिक नपाएपछि होहल्ला हुन थाल्यो । त्यसपछि सबैलाई कोषको तिलौराकोट सम्पर्क कार्यालयमा सरुवा भएको भनेर रमानापत्र दिइयो ।

नियुक्तिपत्र पाएकाहरू दिनभरि गेट कुर्थे । साँझ र्फकन्थे । गिरोहले कसैसँग सम्पर्क पनि गर्न दिँदैनथे । उनीहरूको हाजिर भने गिरोहका एक सदस्य गोविन्दको ससुराली लबनीको एक घरमा गराउँथे । त्यहाँ हाजिर गराएपछि काम गर्न लुम्बिनी पठाउँथे । असार दोस्रो साता रमानापत्र लिएर तिलौराकोट हाजिर हुन आउँदा कोषको तिलौराकोट सम्पर्क कार्यालयका प्रमुख माधव आचार्यले पत्र देख्नासाथ नक्कली पत्र भएको भन्दै प्रहरीमा खबर गरेका थिए । यसपछि आफूहरू ठगिएको थाह पाए ।

ठगिएका राघवेन्द्र बरईले हदैसम्मको कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले अनुसन्धान थालेर गिरोहका गोविन्दप्रसादलाई पक्राउ गरेको छ । मुख्य नाइके धुनिया र मुसलमान फरार छन् । तीनै जनालाई प्रहरीले ठगी मुद्दा चलाएको छ । ती तीन जनालाई जनही ५ वर्ष कैद र बिगोबमोजिम जरिवाना माग दाबी गरी जिल्ला अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता धनेश्वर पौडेलले बताए । पक्राउ परेका भण्डारीलाई जिल्ला अदालतले मंगलबार पुर्पक्षका लागि थुनामा पठाएको छ ।
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 7:16 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पैसा लिएर नक्कली नियुक्तिपत्र ,जागिर पनि नक्कली"

Leave a reply