वैदेशिक रोजगारीका कारण स्थायी नियोजन गर्ने घटे
चितवन, वैशाख ५- चितवनमा स्थायी परिवार नियोजन गर्नेभन्दा अस्थायी साधन प्रयोग गर्नेको संख्या अत्याधिक छ। स्थायी बन्याकरणका लागि स्वास्थ्य निकायले तय गरेको सानो संख्याको लक्ष्यसमेत पूरा हुन गाह्रो भएको छ। युवा अवस्थाका धेरै व्यक्तिहरु रोजगारी र अध्ययनका लागि विदेश गएकाले स्थायी परिवार नियोजन गर्नेहरुको संख्या घट्दै गएको प्रजनन् स्वास्थ्य क्षेत्रमा कार्यरत अधिकारीहरुको भनाइ छ।
प्रजनन् स्वास्थ्य र परिवार नियोजनमा लामो समयदेखि काम गर्दै आएको नेपाल परिवार नियोजन संघ चितवन शाखाले गत वर्ष तीन हजार १३५ पुरुषलाई परिवार नियोजनको अस्थायी साधन कण्डम बाँड्ने र १५० जनालाई स्थायी बन्ध्याकरण भ्यासोक्टोमी गर्ने लक्ष्य बनायो। तर कण्डम लैजाने पुरुषहरु सोचेभन्दा बढी भए भने भ्यसोक्टोमी गर्नेहरुको लक्ष्य अनुरुपको संख्या पुगेन।
त्यस्तै अस्थायी साधन प्रयोग गर्ने महिलाको संख्यामा लक्ष्यभन्दा बढी प्रगति भएको छ। तर स्थायी बन्ध्याकरण मिनिल्याप गर्ने महिलाहरुको संख्यामा कमि आएको छ। वर्षभरिमा परिवार नियोजन संघमा मिनिल्याप गराउने महिला ५० जना पनि आएनन्। महिला पुरुष दुवै अस्थायी साधनमा बढी भर पर्न थालेका छन्।
'परिवार नियोजग गर्ने चितवनका विभिन्न निकाय र स्वास्थ्य केन्द्रहरुमा स्थायी नियोजन गर्नेहरु स्वात्तै घटेको अवस्था छ' चितवन जिल्ला जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत केहरसिंह गोदारले भने। जनस्वास्थ्य कार्यालयले माघमा ५० हजार जनसंख्या भएको माडीमा स्थायी बन्ध्याकरण क्याम्प राख्यो। सो क्याम्पमा महिला पुरुष गरेर जम्मा २२ जनाले बन्ध्याकरण गरे।गोदार भन्छन् 'सबैतिर यस्तै छ।' वच्चावच्ची जन्माउने उमेरका धेरै विवाहित युवा युवती विदेशमा रहेकाले स्थायी बन्ध्याकरण गराउनेहरु घटेको हो भन्छन् उनी। नेपाल परिवार नियोजना संघ चितवन शाखाका प्रवन्धक लक्ष्मण पौडेलको पनि यसमा सहमति छ। उनले थपे 'लामो समय विदेशमा नै बस्नु पर्नेहरुले स्थायी बन्ध्याकरण गराउँदैनन्। प्रायले अस्थायी साधन प्रयोग गर्छन्।'
स्थायी बन्ध्याकरण गराउँदा शारीरिक जोखिम बढ्छ भन्ने धारणा पनि केहीमा छ। तर अस्थायी साधनले नै अनइच्छुक गर्भ रोकिने भएकाले विदेशमा बस्ने महिला पुरुष स्थायी बन्ध्याकरण प्रति इच्छकु नदेखिएको नेपाल परिवार नियोजन चितवन शाखाका कार्यक्रम अधिकृत बालकृष्ण श्रेष्ठको भनाइ छ।
कार्यक्रम अधिकृत श्रेष्ठले दिएको जानकारी अनुसार गत वर्ष तीन हजार १३५ जना पुरुषललाई अस्थायी साधन कण्डम बाँड्ने योजना बनाएको थियो। तर कण्डम लैजानेहरु लक्ष्यभन्दा बढी तीन हजार तीन सयजना पुगे। स्थायी बन्ध्याकरण भ्यासोक्टोमी १५० जनाको गर्ने लक्ष्य राखेकोमा जम्मा १३४ जना पुगे।
त्यस्तै ८२५ जना महिलालाई अस्थायी साधन पिल्स बाँड्ने लक्ष्य राखेकोमा ८६२ जनाले पिल्स प्रयोग गरे। डिपो प्रोभेरा नामको अस्थायी साधन प्रयोग गर्ने महिलाको संख्यामा पनि लक्ष्यभन्दा बढी प्रगति भएको छ। एक हजार ६५ जनालाई डिपो प्रोभेरा दिने योजना रहेकोमा वर्षको अन्तिमसम्म एक हजार ३११ जनाले डिपो प्रयोग गरेको कार्यक्रम अधिकृत श्रेष्ठले बताए।
स्थायी बन्ध्याकरण मिनिल्याप गर्ने महिलाहरुको संख्या पनि निरास जनक नै छ। नेपाल परिवार नियोजन संघले वर्षभरीमा ५० जना महिलाको मिनिल्याप गराउने लक्ष्य राखेको थियो। तर ३३ जनाभन्दा बढी महिलाले स्थायी बन्ध्याकरण गरेनन्। पछिल्लो समयमा महिलाहरु स्थायी बन्याधरणभन्दा एक पटक पाठेघरमा राखेपछि १२ वर्षसम्म काम गर्ने आयुसीडी प्रयोग गर्न इच्छुक हुने गरेको नेपाल परिवार नियोजन संघका शाखा प्रवन्धक पौडेलको भनाइ छ।
स्रोत :नागरिक न्युज
