दुर्घटना न्यूनीकरणका लागि नगर क्षेत्रमा छाडा पशुचौपाया हटाउदै
ज्ञानु गौतम, बाँके ,श्रावण ५ -बाँकेको नेपालगन्ज नगरपालिकाले नगरका बिभिन्न भागका छाडा पशुचौपाया हटाउने कार्य सुरु गरेको छ ।छाडा पशुचौपायाका कारण नगर क्षेत्रमा दुर्घटना बढ्न थालेपछि नगरपालिकाले हटाउने कार्य अगाडी बढाएको हो ।
नेपालगन्जका नगरभित्र विभिन्न स्थानमा रहेका छाडा पशुचौपाया नियन्त्रणमा लिइ कान्जीहाउसमा बुझाइने बताइएको छ । वडा प्रहरी कार्यालय नेपालगन्ज, जिल्ला ट्राफिक प्रहरी कार्यालय र नेपालगन्ज नगरपालिकाको संयुक्त टोलीले विपी चौकदेखि धम्बोझी सम्मको सडकमा भेटिएका करिब ७५ बढि पशु चौपाया नियन्त्रणमा लिएर कान्जीहाउसमा बुझाइएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक ऐन बहादुर मल्लले जानकारी दिनुभयो । दिन प्रतिदिन बढ्दै गएको सडक दुर्घटना न्यूनीकरणका लागि यो कार्यक्रम थालिएको नेपालगन्ज नगरपालिकाले जनाएको छ ।
