|

आदिवासी जनजाति महासंघ युएईको अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

लालबहादुर ढेंगा, युएई-दुबई । नेपालमा बदलिदो राजनीति परिभेषलाई समेट्दै संघीयताको बारेमा चर्चा गर्नको लागि युएईमा रहेका समाजसेवी, बुद्धिजीवि, व्यावसायी तथा विभिन्न संघ संस्थाहरुका बीचमा अन्तरक्रिया तथा अमेरिकाको वेस्टर्न मिचिगन युनिवर्टीका प्रोफेसर महेन्द्र लावटीलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । सो कार्यक्रम ६ जुलाई शुक्रबारका दिन दुबईको एभरेष्ट होटलमा नेपाल आदिवासी जनजाति महासंघ युएईको आयोजनामा सम्पन्न भएको हो ।

नेपाली राजदूतावासका राजदूत धनञ्जय झा प्रमुख अतिथिमा, अमेरिकाको वेस्टर्न मिचिगन युनिवर्टीका प्रोफेसर महेन्द्र लावटी बिशेष अतिथि र नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष गिरमान थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संयोजक महेश मोक्तानले गरेको थियो ।

मन्तव्यको क्रममा विभिन्न वक्ताहरुले नेपालमा आएको राजनीतिक परिवर्तन र संघीयतालाई प्रमुख बिषय बनाएका थिए । नेपाल जस्तो सानो र गरिब मुलुकमा संघीयतालाई जातीयताको आधारमा ल्याउंदा विखण्डन ल्याउने केही वक्ताहरुले भनेका थिए । अन्य राष्ट्रहरुको तुलनामा नेपाल जस्तो गरिब देशमा जातीय संघीयता सफल नहुने बताए । आफ्नो मन्तव्य राख्नेहरुमा रमेश गिरी, चित्रबहादुर केसी, एल एन सुवेदी, छत्र लामा, डीयल शर्मा, यमलाल पंगेनी, गिरमान थापा, डीआर गुरुङ, राजदूत धनञ्जय झा र प्रोफेसर महेन्द्र लावटी रहेका थिए ।

सो अवसरमा दुबईस्थित कार्यरत गजलकार पवन घर्ती मगरद्धारा लेखिएको गजल संग्रह “रहरै भो” र नेपाल आदिवासी जनजाति महासंघ युएईको पहिलो प्रकाशन “स्मारिका” को राजदूत झा र विभिन्न अतिथिहरुले विमोचन गरेका थिए । किरांत याक्थुम चूम्लुङ युएईका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका सल्लाहकार पि एस लिम्बुद्धारा सम्पादन गरेको “स्मारिका” पत्रिकालाई सहयोग गर्ने व्यक्ति, संघ संस्था र व्यावसायीहरुलाई पि एस लिम्बुले धन्यबाद दिनु दिए ।

विगतदेखि अमेरिकाको वेस्टर्न मिचिगन युनिवर्टीमा प्रोफेसरको रुपमा कार्यरत महेन्द्र लावटीलाई वहांले आदिवासी जनजातिहरुको लागि दिएको योगदानलाई कदर गर्दै राजदूत झा र अध्यक्ष थापाले संयुक्त रुपमा सम्मान–पत्र र दोसल्ला ओढाएर सम्मानित गरेका थिए । त्यस्तैगरी तमु समाज युएई, किरांत याक्थुम चूम्लुङ युएई र अन्य विभिन्न संस्थाहरुले पनि सम्मान–पत्र र खादा ओढाएर सम्मानित गरेका थिए ।  

Posted by Butwalonline on 7:28 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "आदिवासी जनजाति महासंघ युएईको अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न"

Leave a reply