प्रधानसेनापतिले उद्धार गरेका बालक चोकमानले गरे सलाम बाजेलाई
कविलास (चितवन), असार १८ - कविलास-७ चौकीको टुप्पामा रहेको घर अहिले पनि सुनसान छ । हलगोरु भोकै छन् । जंगली च्याउ खाएर निधन भएका छोरा, बुहारी र तीन नातिहरूको शनिबार ७३ वर्षीया सन्सरी प्रजा र उनका पति ८० वर्षे मैतलालले यही घरमा १३औं दिनको पुण्यतिथिको कर्म गरे ।
घटना भएदेखि सन्सरी प्रजाका आँखा ओभाना छैनन्, वृद्ध पति मैतलालका आँसु पनि रित्तिसके । घटनामा जीवित भएर अलपत्र परेका दुई नातिमध्ये ६ महिनाको शिशुलाई उनकी फूपूले पाल्न लगिन् भने अर्का दुईवर्षे चोकमान चेपाङलाई प्रधानसेनापति छत्रमानसिं गुरुङले पालनपोषण गर्ने भन्दै जिम्मा लिए । 'चोकमान' को अगाडिको अक्षर 'चोक' मा अघिल्तिर 'प्रभास' थपेर सेनापति दम्पतीले बालकको नाम 'प्रभासचोक' राखेका छन् ।
वृद्धवृद्धाको आग्रहअनुसार सेनापतिले दुईवर्षे नाति प्रभासचोकलाई १३औं दिनको कार्यक्रममा शनिबार घर पठाएका थिए । उनलाई लिएर सैनिक आए । दुई सातापछि नाति भेट्दा वृद्ध दम्पतीले परिवर्तन देखे । 'सफा सुग्घर थियो, काखमा बस्यो,' सन्सरीले भनिन्, 'तर धेरै बेर टिकेन ।'
शनिबार नातिले आउँदा कालो चस्मा लगाएको थियो । 'चिन्छ कि भनेर कालो चस्मा लाइदिएछन्,' उनले भनिन्, 'अनि त के चिन्थ्यो, हात हल्लाएर गयो ।' सञ्चारकर्मीले कालो चस्मा राम्रो देखाउन लगाएको विश्वास दिलाएपछि उनको चित्तबुझ्यो । आइतबार फेरि ल्याउने जनाएर नातिलाई सैनिकले भरतपुर लगेका थिए ।
'नातिलाई भोलि नि ल्याउँछौं भनेर लगे,' वृद्धाले आँसु पुछ्दै भनिन्, 'तर त्यसका नयाँ बाआमा (सेनापति दम्पती) आएनन् ।'
आइतबार वृद्ध दम्पतीले बिहानै खाना खाए । जुठो भाँडा माझे । ग्वालाबिनाका बाख्रा फुकाए । 'आज नाति सैनिक पोसाकमा आउँछ,' मैतलालले भने, 'हेर्न जाने हो ।' बालकलाई लिएर सेनापति छत्रमानसिंह गुरुङ गाउँ आउने जानकारी पाएपछि स्थानीय सयपत्री युवा क्लबले स्वागत कार्यक्रमको मेलोमेसो मिलाएको थियो । प्रभासचोकलाई हेर्न बिहानैदेखि स्थानीय जम्मा भएका थिए ।
घरबाट ढाकाटोपी र कछाडमा मैतलाल अघि-अघि लागे । रातो चोलीमा सन्सरी पछि-पछि हिँडिन् । दुवै जना विद्यालयको चौरमा पुग्दा नाति लिएर सेनापतिलगायत सैनिक अधिकारी सवार गाडीको लस्कर आइपुग्यो । डाँडामा पहिलोपल्ट दर्जन गाडी उक्लेका थिए । प्रभासचोक हेर्न आएकाले धीत मारेर गाडी हेरे ।
गाडीबाट सेनापति अघि निस्के । त्यसपछि सैनिक श्रीमती संघकी अध्यक्ष कमला गुरुङ । साथै मध्य पृतनापतिलगायत अधिकारी थिए । पछाडि एक सैनिकको काखमा थिए प्रभासचोक । बालक सैनिक पोसाकमा थिए । हातमा घडी थियो । घाँटीमा रुमाल । उनको घरको नाम सोमलाल हो । विद्यालयको नाम चोकमान । सेनापति दम्पतीले प्रभास थपेपछि उनी प्रभासचोक प्रजा भए ।
स्वागत गर्ने लाइनमा बसेका मैतलाल नाति खोजिरहेका थिए । सैनिकले नजिकै ल्याएर बाज्ये भन्न लगाए । बालकको बोली फुटेन । उनले स्वागत गर्दा पाएको रातो फूल बाज्येलाई दिए । वृद्धले नमस्कार गरे, तर बालकले नमस्कार फर्काएनन्, बरु सानदारसँग सलाम पो ठोके ।
सैनिक अधिकारी बसेको मञ्च नजिकै बाजेेबज्यै कुर्सीमा बसे । बज्यैले प्रभासचोकलाई काखमा बसाइन्, उनका आँखाबाट आँसुको भेल उर्लियो । बालक हेर्न विद्यार्थी र स्थानीयको भीड लाग्यो । भीड बढेपछि प्रहरीले हटायो । फूपू डल्लीमायाले कान्छा भाइ सनिशलाई ल्याएर बाजेको काखमा राखिन् ।
सैनिक पोसाकमा खादा पहिरेका नाति काखमा पाएपछि सन्सरीको मुहारमा हाँसो देखियो । नातिलाई हेर्दा रुन्चे हाँसो झल्कियो । तर आँखाबाट आँसु र्झन रोकिएन । बालकलाई हेर्न स्थानीय भोकै उपस्थित भएका थिए ।
उनी आउने खबर पाएपछि स्थानीय सानुमाया गुरुङले शनिबार र आइतबार पँधेरामा प्रचार गरिन् । 'बिहानै ७ बजे आएको,' माया घर्तीले भनिन्, 'बाबु हेर्न बसेको ।'
बालकलाई सेना प्रमुखले लगेपछि स्थानीय खुसी बनेका छन् । 'आर्मीको डे्रस लाएर आयो,' स्थानीय देव गुरुङले भने, 'बच्चैमा ठूलो मान्छे भइसक्यो ।' उनले राज्यले उपेक्षा गरेका बेला गाउँको अनाथ बालकलाई जिम्मा लिएर सेनापतिले घाउमा मलहम लगाएको बताए । 'हाम्रा लागि सेनापति महान् हुनुहुन्छ,' उनले भने, 'बच्चा ठूलो मान्छे बनेपछि गाउँको विकास गर्ला कि !'
साभार कांतिपुर
