|

अब पाइलट पेन नेपालमै उत्पादन गरिने


काठमाडौं, असार २२- जापानी कलम निर्माता पाइलट पेन कम्पनीले नेपालबाटै उत्पादन सुरु गर्ने तयारी गरेको छ। तीन दशकदेखि जापानबाट आफ्ना उत्पादन आयात गरेर बिक्री गर्दै आएको कम्पनीसँग मिलेर पाइलट पेनले नेपालबाटै उत्पादनको तयारी गरेको हो|

'नेपाल र दक्षिण एसियाको बजार हेरेर हामीले नेपालबाटै उत्पादन गर्न योजना बनाएका छौं,' बिहीबार राजधानीमा नयाँ कलम बिक्री सुरुवातक्रममा आयोजित पत्रकार सम्मेलनमा पाइलट पेन अन्तर्राष्ट्रिय बिक्री विभागका प्रतिनिधि मासाहिरो हिरुचीले भने।
उनका अनुसार नेपाल र भारतको बजारसमेत हेरेर कम्पनीले यहीँबाट उत्पादन गर्ने योजना बनाएको हो। यसका लागि कम्पनीले नेपालको निर्यात एवं उत्पादन नीति अध्ययन गरिरहेको उनले बताए। पाइलट पेनको आधिकारिक बिक्रेता फेयर आटर््स इन्टरनेसनलका महाप्रबन्धक सुनिल गोएन्काले पनि साझेदारीमा नेपालबाटै उत्पादन सुरु गर्न लागेको बताए।

हामीले उद्योग मन्त्रालयलाई फ्याक्ट्री राखेमा सरकारले कस्तो सहुलियत दिन सक्छ र निर्यातका लागि सहजीकरण गर्न सक्छ वा सक्दैन भनेर प्रस्ताव दिएका छौं,' उनले भने, 'उसको जवाफ हेरेर लगानी गछौं।' उनका अनुसार सरकारले निर्यात सहजीकरणका लागि सहुलियत दिए ठूलो लगानीका साथ बढी क्षमताको प्लान्ट राख्ने कम्पनीको योजना छ।

निर्यातका लागि सहजीकरण नभए नेपालको माग हेरेर सानो प्लान्टमात्र सुरु गरिने छ। 'सानो-ठूलो जत्रो भए पनि हामी डेढ वर्षभित्र नेपालबाटै उत्पादन सुरु गरिसक्छौं,' फेयर आर्ट्सका प्रबन्ध निर्देशक पियुष गोएन्काले भने, 'निर्यात गर्न सरकारले सहज बनाइदिए भारतका लागि पनि यहीँ उत्पादन गर्छौं।'

फाउन्टेन पेन, बल पेन, जेल पेन, मार्कर र पेन्सिल उत्पादन गर्ने यो कम्पनीले नेपालबाट भने कम मूल्य पर्ने कलम उत्पादनको लक्ष्य राखेको छ। नेपाल र दक्षिण एसियाली मुलुकमा कम मूल्यका कलमको माग रहेकाले त्यसलाई लक्ष्य गर्दै यहीँ प्लान्ट राख्न लागेको कम्पनीले जनाएको छ।

कम्पनीका प्रतिनिधि र नेपाली साझेदारले लगानी कति लाग्छ भन्ने निश्चित भइनसकेको बताए। 'हामी सरकारी नीति हेरेर लगानी तय गर्छौ,' गोएन्काले भने, 'निर्यात प्रोत्साहन गर्ने खालको नीति भए लगानी बढ्छ।'
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 8:26 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अब पाइलट पेन नेपालमै उत्पादन गरिने"

Leave a reply