सुन्दरीघाटमा सुकुम्बासी राख्ने तयारीको विरोधमा ललितपुर बन्द
ललितपुर, असार २२ - सरकारले ललितपुरको सुन्दरीघाटमा सुकुम्वासी बसाउन टहरा बनाउन थालेपछि त्यसको बिरोधमा संघर्षमा उत्रेका स्थानीय वासिन्दाले शुक्रबार ललितपुर बन्द गराएको छ ।
बन्दका कारण ललितपुरको शहरी क्षेत्र समेत प्रभावित भएको छ । बजार, व्यवसाय तथा यातायात बन्द छन् । स्थानीयले बिहीबार चक्रपथको धोविघाट क्षेत्रमा दुइ घण्टा चक्काजाम गरेका थिए । प्रहरीको सुरक्षामा सरकारले थापाथलीको बागमती किनारबाट विस्थापित सुकुम्वासीका लागि सुन्दरीघाटमा टहरा बनाउन लागेको हो । सुन्दरीघाट चोभारको वारिपट्टी बागमती किनारमा पर्दछ ।
स्थानीय तथा पाटनवासीको जग्गा रहेको उक्त क्षेत्रमा सरकारले २०३२ सालमा ढल प्रशोधन गर्न भनेर अधिग्रहण गरेको थियो । त्यही जग्गामा सुकुम्वासी बसाउन थालिएपछि बिरोध सुरु भएको हो । पहिला चोभारको हिमाल सिमेन्टको जग्गामा सुकुम्वासी बसाउने सरकारको योजना विफल भएको थियो ।
समाचार कांतिपुर बाट