नेपाली विद्यार्थीले तयार पारे बाग्मतीको फोहर उठाउने स्वचालित रोबोट
काठमाडौं, असार २०- एम्पायरको निर्देशन पाउनासाथ रोबोटले बाग्मतीको फोहर उठाउन थाल्यो। विद्यार्थीद्वारा निर्देशित मानव सञ्चालित रोबोटले बाग्मतीको फोहोरबाट कुहिने र नकुहिने फोहोर पनि छुट्यायो।
त्यसपछि स्वसञ्चालित रोबोटले वृक्षरोपण गर्योि। मानव सञ्चालित रोबोटले छुट्याएको कुहिने फोहोरलाई जम्मा गरेर वृक्षमा मलका रूपमा प्रयोग गर्यो । नकुहिने फोहोरलाई थन्काई राख्यो।
लैनचौरको कभर्ड हलमा मंगलबार इन्जिनियरिङका विद्यार्थीले रोबोटमार्फत यस्तै कौशल देखाए। वातावरणीय ह्रासलाई सम्बोधन गर्न र बाग्मती सफाइबारे सरकारलाई सचेत गराउन ‘सफा बाग्मती हरित काठमाडौं' नामक रोबोकप प्रतियोगिता आयोजना गरिएका थिए।
प्रतियोगितामा काठमाडौं, भक्तपुर, पोखरा र विराटनगरको चार इन्जिनियरिङ कलेजका विद्यार्थी सहभागी थिए। प्रत्येक कलेजका चार विद्यार्थीले ६ महिना लगाएर तयार पारेको मानवसञ्चालित र स्वचालित रोबोट प्रयोग गरियो। प्रतियोगितामा ५० किलो बराबरको दुई रोबोटले एकआपसमा सहकार्य गर्दै प्रतीकात्मक बाग्मती नदीलाई सफा गरे। तीन मिनेटको निर्धारित समयमा रोबोटले फोहोर छुट्याउनु, मल बनाउनु र वृक्षरोपण गर्नुपर्थ्यो।प्रतियोगितामा कालो र सेतो बललाई कुहिने र नकुहिने फोहोरको संज्ञा दिइएको थियो। बल राखिएको भुइँलाई बाग्मती नदी मानिएको थियो। यसैगरी हरियो क्यापसहितको बाक्लो पेपरको रुख बनाइएको थियो।
स्टर्न कलेज अफ इन्जिनियरिङका कोअर्डिनेटर योगराज कोइरालाले भने, ‘विद्यार्थीको ६ महिना अथक प्रयासले सांकेतिक बाग्मती सफा गर्ने अभियानमा कम्तीमा सफल त भयौं।' इन्जिनियरिङका विद्यार्थी कोइरालाले भने, ‘सरकारले पनि आँटे बाग्मती सफा र काठमाडौं उपत्यका हरियाली हुन्छ।'
प्रतियोगितामा सबभन्दा छिटो काम पूरा गरी भक्तपुरको खोप इन्जिनियरिङ कलेज प्रथम, पोखराको वेस्टर्न रिजनल इन्जिनियरिङ कलेज दोस्रो र विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङ तेस्रो भए।
रोबोटिक्स क्लबका मिडिया संयोजक अभिषेक कर्णले भने, ‘रोबोट प्रतियोगिताले वातवरणीय ह्रासको समस्यालाई सम्बोधन गर्दै सरकार र जनतालई सचेत गर्छ।'
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका सहायक डिन रामचन्द्र सापकोटाले भने, ‘विद्यार्थीले रोबोट तयार पार्दा थुप्रै प्राविधिक ज्ञान सिक्छन्। रातदिनको मिहिनेतले उनीहरूले रोबोट तयार पार्दा पढेका कुरा व्यवहारमा उतार्न सकेका छन्।'
साभार नागरिक न्यूज बाट
