जनजाति आन्दोलनमा घाइते भएका थनैतको निधन
काठमाडौ, जेष्ठ २४ - नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिले गरेको आन्दोलनका क्रममा नवलपरासीको डण्डामा प्रहरीको गोली लागि गम्भीर घाइते भएका धनबहादुर थनेत थारुको मंगलबार राति निधन भएको छ ।
थारुको राजधानीको शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनलाई थप उपचारका लागि नयाँ दिल्ली पठाउने सरकारले निर्णयगरे पनि दिल्ली पठाउनु अघि नै उनको निधन भएको हो ।
गत बैशाख २७ गते भएको विरोध प्रदर्शनमा प्रहरीले अन्धाधुन्द गोली चलाउदा थारुसहीत एक दर्जन बढी घाइते भएका थिए । प्रहरीको गोली लागी गम्भीर घाइतेहरु महेन्द्र आलेमगर, विशाल चौधरी थारु र तारा थनैतथारुको अहिले पनि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सो घट्नामा डण्डा बजारमा रहेको थारु सांस्कृतिक संग्रहालय जलाइएको थियो । नवलपरासी डण्डा किसान स्वर्गीय धनबहादुर थारु थनैतका श्रीमती, एक छोरा र एक छोरी छन् ।
यसैबीच नेपाल आदिवासी जनजाति महासंघ र थारु संयुक्त संघर्ष समितिले थारुको हत्याको भत्र्सना गर्दै उनलाई सहीद घोषणा गर्न सरकारसंग माग गरेको छ । महासंघले मृतकका परिवारलाई राहत उपलब्ध गराउन, रोजगारीको व्यवस्था गर्न र डण्डामा भएको गोली काण्ड र संग्रहालय आगजानी घटनाको छानविनर गरी दोषीलाई कडा कारबाही गर्न माग गरेको छ । माग पुरा नभएसम्म शव नउठाउने महासंघका अध्यक्ष राजकुमार लेखीले बताए ।
महासंघले अहिले विहान ९ बजे शिक्षण अस्पताल महाराजगन्जमा भेला भई स्वर्गीय थारुप्रति श्रद्धान्जलि अर्पण गर्ने जनाएको छ । महासंघले आजै आफ्ना विभिन्न ७१ जिल्लाका समन्वय परिषद कार्यालयमा काम बन्द गर्ने र महासंघको झण्डा आधा झुकाउने भएको छ । महासंघले थारुलाई सहीद घोषणा गर्नुपर्ने भन्दै आजै मुलुक भरको जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिने भएको छ ।
समाचार कांतिपुर बाट
