|

सार्वजनिक स्थानमा चुरोट खाने ८४ जना पक्राउ

काठमाडौं, असार १३- सार्वजनिक स्थानमा चुरोट खाने ८४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सार्वजनिक स्थानहरु, अस्पताल, भिडभाड हुने ठाउँमा उभिएर चुरोट तानिरहेकालाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। उनीहरुलाई विभिन्न प्रहरी कार्यालयमा राखिएको छ।

प्रहरी परिसरका डिएसपी धीरजप्रताप सिंहका अनुसार सिंहदरबार, न्युरोड, थापाथली, रत्‍नपार्क, वीर अस्पतालबाट चुरोट तानिरहेकाहरुलाई नियन्त्रणमा लिइएको हो। उनीहरुलाई सचेत गराई १०० रुपियाँ जरिवाना गराएर रिहा गरिने सिंहले बताए। उनका अनुसार बुधबारबाट सुरु भएको अभियान एक महिनासम्म चल्नेछ।

सुर्तीजन्य पदार्थ -नियन्त्रण र नियमन गर्ने ऐन, २०६६ लागू गरेपछि सार्वजनिक स्थलमा धूमपान गर्नेलाई एक सय रुपैयाँसम्म जरिवाना गर्न कानुनी व्यवस्था छ। ऐनअनुसार राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम तथा स्वास्थ्यसम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्घाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखाना कार्यस्थललाई सार्वजनिक स्थलका रूपमा परिभाषित गरिएको छ। ऐनअनुसार कार्यस्थल भन्नाले उद्योग तथा कलकारखानाले काम गर्न छुट्टयाएको कार्यालय वा स्थल मानिन्छ ।

यस्तै चलचित्र घर, सांस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, रेस्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृहलाई समेत सार्वजनिक स्थल मानिएको छ। रंगशाला, कभर्ड हल, शारीरिक सुगठन व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउससमेत ऐनअनुसार सार्वजनिक स्थलमा पर्छन्। तर ऐनले सडकलाई सार्वजनिकस्थलको रुपमा राखेको छैन।
समाचार नागरिक न्यूज बाट

Posted by Butwalonline on 5:02 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "सार्वजनिक स्थानमा चुरोट खाने ८४ जना पक्राउ"

Leave a reply