बस र ट्रिपर एकआपसमा ठोक्किदा २९ जना यात्रु घाइते
भक्तपुर, असार १०- अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको भातेढिकुरमा आज बिहान बस र ट्रिपर एकआपसमा ठोक्किएर दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन्।
बनेपाबाट काठमाडौँतर्फ जाँदै गरेको ना२ख १०९५ नम्बरको बस र काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा१ख ५४७७ नम्बरको टि्रपर एकआपसमा ठक्कर खाएर भएको सो दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन्।
दुर्घटनापछि उपचारका लागि भक्तपुर अस्पताल ल्याइएका बिरामीमध्ये गम्भीर घाइते भएका कुमार कोइराला, प्रेम सिंह र सिर्जना खत्रीलाई काठमाडौँ मेडिकल कलेज र प्रेम लामा, निर्मल माझी र हीरा लामालाई धुलिखेल अस्पतालमा थप उपचारका लागि पठाइएको छ।
अन्य घाइतेको भने भक्तपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। बस र ट्रिपर एकआपसमा ठक्कर खाँदा बस सडकभन्दा तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भए पनि प्रहरीले ८ बजेदेखि यातायात सञ्चालन गरेको थियो। रासस
समाचार नागरिक न्यूज बाट