|

एसिसी एलिटकप प्रतियोगितामा नेपालद्वारा सिंगापुर १०१ रनले पराजित


क्वालालम्पुर, वैशाख २९ - मलेसियामा जारी एसिसी एलिटकप क्रिकेट प्रतियोगिताको शुक्रबार भएको खेलमा टस् जितेर पहिलो ब्याटिङ रोजेको नेपालले बलियो प्रतिद्वन्दी मानिएको सिंगापुरलाई पराजित गरेको छ । योसँगै नेपालको यो पाँचौं अपराजित यात्रा हो । नेपालले ४० ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय ४० रन जोडेको थियो । प्रतिद्वन्द्वी सिंगापुर भने ३६ विकेट ५ बलमा अल-आउट हुँदै १ सय ३९ रनमा सीमित भयो । नेपालले १ सय १ रनले सिंगापुरलाई पराजित गरेको हो ।
सन् २०१० को पहिलो संस्करणको फाइनलमा सिंगापुर र नेपाल भिडेका थिए । त्यतिबेला काठमाडौंमा भएको फाइनलमा सिंगापुरले नेपाललाई ६८ रनले हराएको थियो । यसपटक भने सिंगापुर समूह ए को उपविजेतामै सीमित भएको थियो । तापनि बलियो दाबेदारको रुपमा लिइएको सिंगापुरलाई नेपालले दुई वर्षअघिको हारको बद्ला यसपालि लिएको छ । शुक्रबारको खेलमा जगदीश चन्द म्यान अफ् दि म्याच घोषित भएका छन् । उनले ५३ रन जोडेका थिए ।
यसअघिका खेलमा नेपालले समूहचरणमा इरानमाथि १ सय ६७ रनको जित निकालेको थियो । घरेलु टिम मलेसियामाथि भएको बुधबारको खेलमा नेपालले १ विकेटले जितेको थियो । त्यसैले पनि नेपाली टिममा आत्माविश्वास बढेको थियो । नेपाल समूह चरणमा कुवेतलाई ७१ रन, बहराइनलाई आठ विकेट, इरानलाई १ सय ६७ रन र मलेसियालाई एक विकेटले हराएको थियो । सिंगापुरले पहिलो खेलमा हङकङलाई सात रन र ओमानलाई १२ रनले हराएको थियो । समूहको अन्तिम खेलमा सिंगापुर थाइल्याण्डबाट नै रनले पराजित भएको थियो ।
नेपालका आकाश विष्टको उत्कृष्ट ब्याटिङले बुधबार नेपालले मलेसियालाई १ विकेटको चामत्कारिक जित निकालेको थियो र चारै खेलमा जित निकाल्दै समूह वि को बिजेता बन्न सफल भएको थियो ।
यो जितसँगै नेपाल अब फाइनलमा प्रवेश गरेको छ । अब आगामी आइतबार हुने फाइनल खेलमा नेपाल मलेसियासित भिड्ने छ । "अब फाइनल मलेसियासित खेल्नेछौं । हाम्रो अपराजित यात्रा जारी छ । मलेसियालाई पनि हराउनेछौं ।" टिमका म्यानेजर सञ्जिव कुमार पाण्डेले शुक्रबार टेलिफोनमा ईकान्तिपुरसित भने ।
समाचार कांतिपुर बाट

Posted by Butwalonline on 1:41 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एसिसी एलिटकप प्रतियोगितामा नेपालद्वारा सिंगापुर १०१ रनले पराजित"

Leave a reply