पाल्पामा उद्योग वाणिज्य संघद्वारा सद्भाव र्याली
पाल्पा, जेठ १३- पाल्पा उद्योग वाणिज्य संघले शुक्रबार सद्भाव र्याली गरेको छ। पाल्पा कुन राज्यमा पर्ने भन्ने विषयमा जातीय र भौगोलिक आधारमा बाँडिएर जिल्लामा शक्ति प्रदर्शन र बन्द हड्ताल हुन थालेपछि सद्भाव र एकताका लागि भन्दै र्याली गरिएको हो। राज्य पुनःसंरचनामा पाल्पा कुन राज्यमा पर्ने भन्ने बहस अहिले सर्वत्र चलेको छ।
मगरात स्वायत्त प्रदेश, बृहत् कालिगण्डकी प्रदेश, अखण्ड लुम्बिनी र बृहद लुम्बिनी नामका प्रदेशमा पाल्पालाई समावेश गर्नु पर्ने भन्दै चार विचार समुहमा बाँडिएर बहस र दवावका कार्यक्रम भएका छन्। चारवटै माग राख्नेहरुले सडक तताउने र बन्द हड्तान गर्न सुरु गरेपछि जिल्लामा तनाव सुरु भएको छ। आलोपालो गरेर बन्द गर्ने र एकले अर्काको मागलाई नाजायज भन्दै आक्रोश पोख्ने गरिएको छ।
'एकै जिल्लाका हामीहरुबीच एकता र सद्भाव बलियो बनाऔं,' शुक्रबारको सद्भाव सभालाई सम्बोधन गर्दै संघका अध्यक्ष मधुदयाल सैंजुले भने 'राज्यसंग माग राख्ने हो, सबैले माग राखौं तर यहाँ झगडा गरेर एकता भंग नगरौं।' संघका महासचिव भीमसेन कार्कीले जातीय, धार्मीक एवं साँस्कृतिक सहिष्णुता नेपालीको पहिचान भएको बताए। 'यो पहिचानलाई मेट्ने काम नगरौं,' उनले भने 'पाल्पालाई कुन राज्यमा गाभ्नेबारे स्वस्थ बहस गरौं।' उद्योग बाणिज्य संघले जुनसुकै नामको प्रदेशमा पाल्पा रहेपनि त्यो प्रदेशको प्रादेशिक राजधानी पाल्पालाई नै बनाउनु पर्ने धारणा अघि ल्याएको छ।
मगरात प्रदेशको माग सहित जनजातीले तीनदिन बन्द गरेका थिए। जातीय आधारमा राज्य कायम नगर भन्दै ब्राह्मण, क्षेत्री लगायतको संघर्ष समितिले दुईदिन बन्द गरे। पाल्पाको पूर्वी भेगमा बृहत गालिगण्डकी प्रदेशको माग गर्दै दैनिक सभा र प्रदर्शन भएका छन्।
भिन्नभिन्न समुहमा बाँडीएर संघर्षमा
उत्रेकाहरु शुक्रबार भने एकै थलोमा जुटे र र्याली गर्दै बजार परिक्रमा गरे। यस अघि बन्द हड्तालको नेतृत्व गरेका अगुवाहरुको हातहातमा 'बन्द अब बन्द गरौं' लेखिएका प्लेकार्ड थिए। सद्भाव र्यालीमा व्यापारी एवं व्यवसायीहरुको उल्लेख्य सहभागिता थियो। राजनीतिक दल, संघ संस्था, जातीय एवं धार्मीक समुदाय र तानसेन नगरवासी सहभागी र्याली बजार परिक्रमा पश्चात भगवती मन्दिर परिसरमा सभा भएको थियो।
तानसेन फरक पाल्पा जिल्लाको तानसेन बजारमा व्यापार व्यवसाय गर्नेहरु र्यालीमा सहभागी थिए। तानसेनमा आयोजना गरेको सद्भाव र्यालीमा बन्द नगरौं भन्ने सन्देश लेखिएको प्लेकार्ड बोकेका एक सहभागी।
समाचार नागरिक न्यूज बाट
समाचार नागरिक न्यूज बाट