विद्यालय व्यवस्थापन समितिको गठन विवादमा दुई गाउँबीच दोहोरो झडप
सिमीकोट (हुम्ला), जेठ ३- हुम्लाको सदरमुकामस्थित मानसरोवर उमाविको नयाँ विद्यालय व्यवस्थापन समितिको गठनबारे जिल्लाका मुख्य दलहरूबीच भएको विवादले साम्प्रदायिक रुप धारण गर्दा ठेहे र सिमीकोट गाउँबीच झडप भएको छ। गठन प्रक्रियामा जिल्लाका मुख्य दलहरू एमाओवादी, नेपाली काँग्रेस र नेकपा एमालेबीच विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदका लागि भएको विवादमा मङ्गलबार झडप भएको थियो।सो क्रममा सिमिकोटका बासिन्दाबाट ठेहे-५ का गोरख विष्टमाथि कुटपिट भएको घटनालाई लिएर अहिले दुई गाउँबीच दोहोरो झडप भइरहेको हो।
मानसरोवर उमाविमा ठेहे पक्षले सिमिकोट निवासी शिक्षक कैलास रोकायामाथि हातपात गरेपछि सुरु भएको झडपले उग्ररुप लिएको छ। अहिले सिमिकोटवासीले ठेहेका तीनजनालाई आफ्नो कब्जामा लिएर कुटपिट गरेको आरोप ठेहेका कमल बोहोराले लगाएका छन्।
उता आफ्ना गाउँका शिक्षकलाई विद्यालयमा गएको बेलामा अचानक हातपात गरेकाले आफूहरूले त्यस्ता व्यक्तिलाई प्रशासनसमक्ष बुझाउनका लागि नियन्त्रणमा लिएको सिमिकोट पक्षले बताएको छ।
विद्यालयमा भएको राजनीतिक हस्तक्षेपले आफ्नो पढाईमा घाटा लागेको भन्दै सिमीकोटका सबै विद्यालयका विद्यार्थीहरू आन्दोलित भई जिल्ला सदरमुकामका ५ वटै विद्यालयमा तालाबन्दी गरेका छन्। सिमिकोट बजार तनाबग्रस्त भएपछि प्रशासनले कर्फ्युको तयारी गरेको छ।
एक घण्टाअघि ठेहे पक्षले आफ्ना गाउँबाट झण्डै २ सयको हाराहारीमा महिला पुरुष बोलाए पछि उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यूको तयारी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
एक घण्टाअघि ठेहे पक्षले आफ्ना गाउँबाट झण्डै २ सयको हाराहारीमा महिला पुरुष बोलाए पछि उत्पन्न असहज परिस्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यूको तयारी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस
समाचार नागरिक न्यूज बाट
