|

अपहरण पछि व्यवसायीको हत्या

काठमाडौं, वैशाख १५ - एक महिनाअघि काठमाडौंबाट अपहरणमा परेका गोरखाका व्यवसायी प्रकाश पन्तको हत्या भएको छ। अपहरणकारीले बेहोस हुने ट्याबलेट खुवाएर हत्या गरेको प्रहरी निष्कर्ष छ। पक्राउ अभियुक्तको बयानका आधारमा प्रहरीले पन्तको शव बिहीबार ककनीमा गाडिएको अवस्थामा फेला पार्‍यो।प्रहरीले अपहरण र हत्यामा संलग्न अभियोगमा भिम तामाङ, सोम श्रेष्ठ, कामानन्द खड्का र रत्न लामालाई पक्राउ गरेको छ। भिम काठमाडौंमा पक्राउ परेका हुन्। अन्य तीन अभियुक्तलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतमा समातेको थियो।

अनुसन्धान स्रोतका अनुसार दाङको सिमेन्ट कारखानालाई चुनढुंगा बेच्दै आएका ५० वर्षीय पन्त चैत १२ गते अपहरणमा परेका थिए। उनी पूर्वसैनिक हुन्। उनलाई अपहरणकारीले युवती प्रयोग गरेर चाबहिलको ग्रिनल्यान्ड क्याबिन पुर्‍याएका थिए। अपहरण सजिलो पार्न पेय पदार्थमा बेहोस हुने औषधि मिसाएर खुवाए। डोज बढी भएकाले उनको मृत्यु भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए। त्यसै रात १० बजे उनीहरूले पन्तको शव ककनी पुर्‍याएर गाडेको खुलेको छ।
सेनाबाट अवकाश पाएका पन्त हराएको जानकारी महानगरीय प्रहरी अपराध महाशाखामा आएपछि विशेष टोली परिचालित भएको थियो। उक्त टोलीले केही दिनअघि काठमाडौंमा भिमलाई पक्राउ गरेपछि अपहरणकै दिन हत्या भएको खुलेको हो।


अनुसन्धान क्रममा अपहरणमा संलग्न केही व्यक्ति नेपाल-भारत सीमाबाट करिब ४० किलोमिटरभित्र मध्यपुरामा रहेको सूचनाका आधारमा काठमाडौंबाट टोली गयो। टोलीले बुधबार सोम, कामानन्द र रत्नलाई त्यहीँ पक्राउ गरी काठमाडौं ल्याएको थियो। 

प्रहरी अधिकारीका अनुसार भिम पटकेचोर हुन्। उनी यसअघि चोरी अभियोगमा पक्राउ परी तीन वर्ष कारागार बसेका थिए। सोम पूर्वसैनिक रहेको विश्वस्त स्रोतले बतायो। पक्राउ अभियुक्तहरूले सुरुमा पन्तको पैसा लुट्ने र बेहोस बनाएर गेस्ट हाउसमा बन्धक राखेपछि परिवारका सदस्यसँग फिरौती असुल्ने योजना बनाएको बयान दिएका छन्।पन्तसँग प्रशस्त पैसा भएको र धादिङमा होटल चलाएर बसेकी उनकी श्रीमतीबाट पनि राम्रो फिरौती असुल्न सक्ने ठानेको अभियुक्तहरूले बताएका छन्। 'औषधि खुवाएर बेहोस बनाउने मात्र योजना थियो,' कामानन्दको बयान उद्धृत गर्दै स्रोतले भन्यो, 'औषधिको डोज धेरै भएछ, बेहोस भएपछि उठ्दै उठेन।'अपहरणमा संलग्न अन्य अभियुक्त खोजीकै क्रममा रहेको भन्दै महाशाखाका अधिकारीले घटनाबारे केही बताउन चाहेनन्। 
समाचार नागरिक न्युज बाट 

Posted by Butwalonline on 7:32 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "अपहरण पछि व्यवसायीको हत्या"

Leave a reply