|

बम राखेको हल्लापछि उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज विमानस्थलमै रोकियो

सुशील भट्टराई, काठमाडौं, चैत १९- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १० जना यात्रु लिएर दुबईतर्फ उड्न लागेको नेपाल वायुसेवा निगमको ठूलो जहाजमा बम राखिएको हल्ला चलेपछि उडान रोकिएको छ। उड्ने तयारीमा रहेको निगमको बोइङ ७५७-९एन एसीबी जहाजमा बम राखेको हल्लापछि चेकजाँच गरिएको छ।


जहाज १८० यात्रु लिएर साँझ ६:५५ बजे दुबई जाने तालिका थियो। जसलाई क्याप्टेन वाइके भट्टराई र वाइपी जुहार्चनको टोलीले उडाउँदै थियो।

बम रहेको खबर पाएपछि नेपाली सेनाको बम डिस्पोजल टोली र प्रहरीले जहाजभित्र चेकजाँच गरेका छन्। सबै यात्रुको लगेज र ब्यागेज जहाजबाहिर ल्याएर चेकजाँच गरिरहेको विमानस्थल स्रोतले नागरिकन्युजलाई जानकारी दिएको छ।

'दिउँसो ४ बजे निगमको अर्को बोइङ ७५७-९एन एसिएमा बम राखेको हल्ला फिँजिएपछि बम डिस्पोजल टोलीले जहाज चेकजाँच गरेको थियो,' स्रोतले भन्यो, 'एसिएमा बम नभेटिएपछि टोलीले अहिले उड्न लागेको एसिबी जहाजमा पनि जाँच गरिरहेको छ।'

पूरै जाँचपछि जहाज उड्दा राति ८ बज्ने स्रोतले बतायो। कसैले अप्रिल फुल मनाएको शंका गरिए पनि विषय गम्भीर रहेकाले चेकजाँच गर्नुपरेको स्रोतले बतायो।

स्रोतका अनुसार दिउँसो ४ बजे मलेसियाबाट त्रिभुवन विमानस्थल प्रहरीलाई निगमको जहाजमा बम राखिएको भन्दै टेलिफोन आएको थियो। अहिले यात्रुको लगेज र ब्यागेज पहिचान गर्दै जहाजभित्र राखिँदैछ। यात्रुहरु पनि चेकजाँच गर्दै जहाजभित्र पस्दैछन्।

'बम भेटिएन,' स्रोतले भन्यो '४५ मिनेटभित्र जहाज दुबईका लागि उड्छ।'
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 5:41 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बम राखेको हल्लापछि उड्न लागेको नेपाल वायुसेवा निगमको जहाज विमानस्थलमै रोकियो"

Leave a reply