|

पोखरा क्षेत्रीय विमानस्थल निर्माण गर्न टेन्डरको म्याद फेरि १० दिन थपियो

काठमाडौं, वैशाख ११ - नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न मागेको टेन्डरको म्याद फेरि १० दिन थपेको छ। टेन्डरको अन्तिम म्याद वैशाख १२ सम्म छ। विमानस्थल निर्माणमै प्रतिस्पर्धा गरिरहेका चिनियाँ ठेकेदार कम्पनीको आग्रह र सार्वजनिक लेखा समितिको पुनः निर्देशनपछि प्राधिकरण सञ्चालक समितिले शनिबार टेन्डरको म्याद थपेको हो। 


लेखा समितिले पहिले थपेको म्याद पर्याप्त नभएकाले फेरि थप्न पत्र पठाएपछि १० दिन म्याद थप्ने निर्णय भएको छ,' प्राधिकरणका महानिर्देशक त्रिरत्न मानन्धरले आइतबार नागरिकसँग भने।
२०६८ माघ २७ मा प्राधिकरणले पहिलो पटक ४५ दिनको म्याद राखेर टेन्डर आह्वान गरेको थियो। करिब १२ अर्ब रुपैयाँ लगानीमा निर्माण गर्न लागिएको यो अन्तर्राष्ट्रिय विमानस्थलका लागि टेन्डर म्याद कम भएको भन्दै लेखा समितिले म्याद थप्न निर्देशन दिएको र चिनियाँ ठेकेदारले पनि गुनासो गरेपछि प्राधिकरण सञ्चालक समितिले चैत १२ मा पुनः ३० दिन म्याद थपेको थियो।
प्राधिकरण सञ्चालक समितिका अध्यक्ष पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्ट मगर हुन्।
यसअघि ४५ दिने म्याद राखेर प्राधिकरणले टेन्डर आह्वान गरे पनि त्यति ठूलो परियोजना निर्माणमा कम्तीमा ९० दिनको म्याद दिनुपर्ने अन्तर्राष्ट्रिय नियम छ। सीमित कम्पनीले मात्र प्रतिस्पर्धा गर्न भ्याउने गरी टेन्डर आह्वान गरिएको, टेन्डर आह्वान भएकै दिन माग गर्दा हार्डकपी १५ दिनसम्म नदिएको र त्यसपछि दिइएको र सफ्टकपी १९ दिनपछि बाँडेको भन्दै अन्य कम्पनीले गुनासो गरेका थिए।
परियोजनामा चिनियाँ कम्पनीले मात्र प्रतिस्पर्धा गर्न पाउने भए पनि अवधि छोटो भएकाले विमानस्थल बनाउने ल्याकत भएका सबै चिनियाँ ठेकेदारले प्रतिस्पर्धा गर्न नभ्याउने अवस्था रहेको भन्दै उनीहरूले म्याद थप्न आग्रह गरेका थिए।
प्राधिकरणका अनुसार हालसम्म चिनियाँ कम्पनीहरू सिनो हाइड्रो, एभिक इन्टरनेसनल होल्डिङ्स कम्पनी, चाइना हार्बर, चाइना सिएएमसी कम्पनी लिमिटेड, चाइना वाटर एन्ड इलेक्ट्रिक कम्पनी, सिएचएन हङकङ, चाइना रेल्वे एयरपोर्ट कन्स्ट्रक्सन, पान चाइना कन्स्ट्रक्सन ग्रुप लगायत १० कम्पनीले टेन्डर लगेका छन्।
टेन्डर आह्वानको ४५ दिनभित्र उक्त १० कम्पनीले फारम लगेका थिए। तर, ३० दिन म्याद थप्दा पनि अन्य कम्पनीले फारम लगेनन्। फारम शुल्क ३० हजार रुपैयाँ तोकिएको छ।
प्राधिकरणका अनुसार अर्थ मन्त्रालयले चीनको एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकबाट लिने सहुलियत ऋणलाई प्राधिकरणले ८ प्रतिशत ब्याज दरमा लिन लागेको हो।
पोखराको छिनेडाँडामा उक्त क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लागिएको हो। यसका लागि ३५ वर्षअघि नै ३ हजार १ सय ६ रोपनी जग्गा अधिग्रहण गरिएको थियो। यो विमानस्थलमा ४५ मिटर चौडाइ र २ हजार ५ सय मिटर लम्बाइको पक्की धावनमार्ग हन्छ। यसमा बोइङ ७५७ आकारसम्मका जहाज उडान-अवतरण गर्न मिल्छ।
समाचार नागरिक न्यूज बाट 

Posted by Butwalonline on 5:00 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "पोखरा क्षेत्रीय विमानस्थल निर्माण गर्न टेन्डरको म्याद फेरि १० दिन थपियो"

Leave a reply

ताजा अपडेट

सर्वाधिक लोकप्रिय

तपाईंका प्रतिक्रियाहरु