|

वैद्यको मसाल जुलुसमा हस्तक्षेप,एक सभासदसहित १४ जना पक्राउ


काठमाडौं, चैत्र २९ - लडाकु र हतियार नेपाली सेनालाई जिम्मा लगाउने सेना समायोजन विशेष समितिको निर्णयविरुद्ध माओवादी उपाध्यक्ष मोहन वैद्य समूह सडक संघर्षमा उत्रिएको छ ।
विशेष समितिको निर्णयलाई ‘आत्मसमर्पणवादको पराकाष्ठा’ भनेको वैद्य समूहले बुधबार बिहान चक्काजाम र साँझ मसाल जुलुस निकालेको छ । विरोध कार्यक्रममा वैद्य कार्यकर्ताहरुले प्रधानमन्त्री बाबुराम भट्टराई र पार्टी अध्यक्ष पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरे ।
साँझ न्यूरोडबाट निस्किएको मसाल जुलुसमा प्रहरी हस्तक्षेप भएको छ । माओवादी वैद्य समूहका कार्यकर्ताले बोकेको मसाल प्रहरीले खोसेपछि केहीबेर तनाव भयो । यद्यपि वैद्य समूहले मसाल जुलुस भने निकालेरै छाड्यो ।
प्रहरीले मसाल खोस्नेक्रममा भएको झडपमा तीन प्रहरी र ११ प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुको बीर अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये दुई प्रदर्शनकारीको अवस्था गम्भीर छ ।
माओवादी महासचिव रामबहादुर थापाले नेतृत्व गरेको मसाल जुलुस साँझ रत्नपार्कमा पुगेर कोणसभामा परिणत भयो । 
वैद्य समूहले बुधबार बिहान १० बजेदेखि मुलुकभर एक घण्टा चक्काजाम गरेको थियो । चक्काजामका क्रममा गोरखामा केही कार्यकर्ता पक्राउ परेका छन् ।यसै गरी वैद्य पक्षले बुधबार देशव्यापी रुपमा आव्हान गरेको चक्काजामको क्रममा पोखरामा एक सभासद सहित १४ जना  पक्राउ परेका छन् । 
सभासद  श्रीराम अधिकारी  सहित पक्राउ परेका  १४ जना कार्यकर्तालाई  जबरजस्ती  सवारी चल्न बन्द गराउदै हिडने  क्रममा प्रहरीले पक्राउ परेका हुन । 
पक्राउ परेका सबैलाई दुई  घण्टा नियन्त्रणमा लिएर  छाडिएको  जिल्ला प्रहरी प्रमुख यादवराज खनालले बताए ।
स्रोत :कान्तिपुर दैनिक 

Posted by Butwalonline on 6:33 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "वैद्यको मसाल जुलुसमा हस्तक्षेप,एक सभासदसहित १४ जना पक्राउ"

Leave a reply