|

यादव पौडेलको छतबाट धकालेर हत्या गरिएको सार्वजनिक


काँकडभिट्टा, चैत्र २९ - झापाका पत्रकार यादव पौडेलको छतबाट धकालेर हत्या गरिएको प्रहरीले आफ्नो अनुसन्धान रिपोर्टबाट खुलाएको छ । बुधबार पत्रकार सम्मेलन मार्फत प्रहरीले घट्नामा संलग्न रहेका तीन जना अभियुक्तलाई समेत सार्वजनिक गरेको छ ।
प्रहरीले युवराज गिरी तथा घटना भएको पूर्वाञ्चल सेकुवा कर्नर एण्ड गेष्ट हाउसका संचालक सोम ढकाल र उनकी पत्नी मञ्जु ढकाललाई घट्नाका मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरेको हो । होटल व्यवसायी संघका पूर्व अध्यक्ष गिरीले छतबाट धकाल्दा पौडेलको निधन भएको प्रहरीले आफ्नो अनुसन्धान विवरण सार्वजनिक गर्दै भनेको छ । गिरी प्रकाशक रहने गरी पौडेलले पत्रिका प्रकाशनको तयारी गरेका थिए ।
पत्रकार सम्मेलनमा अभियुक्त मञ्जुले पनि पत्रकार पौडेललाई गिरीले छतबाट धकालेको वयान दिएकी छन् । उनी घट्नाको प्रत्यक्षदर्शी हुन् । होटलको तीन तल्ला माथि छतबाट पौडेललाई धकालिएको प्रहरी उपरीक्षक तारणी लम्सालले बताए ।  झापाबाट एभिन्यूज टिभी, राजधानी दैनिक र स्थानीय मेची टाइम्समा काम गर्ने पत्रकार पौडेलको चैत्र २१ गते मध्य राति हत्या भएको थियो ।
घट्नाको समयमा छतमा पौडेल, गिरी र मञ्जु तीन जना रहेको प्रहरीले जनाएको छ । 'तात्कालिन परिस्थितिमा गिरी र पौडेलबीच भनाभन भएको देखिन्छ,'एसपी लम्सालले भने-'त्यही बेला गिरीले पत्रकार पौडेललाई छतबाट धकालेका छन् ।' अंचल प्रहरी कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा एसपी लम्सालसंगै केन्द्रीय अनुसन्धान ब्यूरोबाट गएका प्रहरी निरीक्षक कृष्ण कोइरला पनि उपस्थित थिए ।
प्रहरीले घट्नाको थप अनुसन्धान भइरहेकोले नियोजित योजना अनुसार पनि हत्या भएको हुनसक्ने आशंका अझ रहेको बताएको छ । घट्ना हुनुभन्दा अगाडि गिरीले मदन राईसंग मोबाईलबाट २३ मिनेट कुराकानी गरेको देखिएको छ । घट्नामा राईको संलग्नता बारेपनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राति राईको टोली होटलमा आएपनि उनीहरु भित्र छिर्न पाएका छैनन् ।
हत्याका मुख्य अभियुक्त गिरी र होटल संचालिका मञ्जुबीच केही वर्ष यता अनौतिक सम्बन्ध पनि रहेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । उक्त सम्बन्धबारे मञ्जुले पत्रकार सम्मेलनमा स्विकार गरेकी छन् । पत्रकार सम्मेलनमा तीनै जना अभियुक्त उपस्थित भएपनि प्रहरीले मञ्जुलाई मात्रै बोल्न दिएको थियो ।
टाउकोमा रगत जमेर भएको हेड इन्ज्यूरीका कारण पौडेलको मृत्यू भएको उनको शव परीक्षण पछि खुलेको प्रहरीले बताएको छ । पौडेलको फोक्सो र कलेजो ड्यामेज भएको पनि शव परीक्षण रिपोर्टमा उल्लेख छ ।
स्रोत :कान्तिपुर दैनिक 

Posted by Butwalonline on 8:10 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "यादव पौडेलको छतबाट धकालेर हत्या गरिएको सार्वजनिक"

Leave a reply