|

गाडीधनीसँग झगडा भएपछि रक्सीले मातेका चालकले बस भिरबाट पल्टाइदिए

टेकनारायण भट्टराई,  पाल्पा, चैत २०- गाडीधनीसँग झगडा भएपछि रक्सीले मातेका चालकले रित्तो बस भिरबाट पल्टाइदिएका छन्। बुटवलमा भएको झगडापछि रातारात ६० किलोमिटर टाढा पाल्पा ल्याएर चालकले भीरमा बस फालेका प्रहरीले जनाएको छ।
भारतीय पर्यटक बोकेको सिएच ०३ जे ८१८१ नम्बरको भारतीय नम्बर प्लेटको बस आइतबार पाल्पा खस्यौली गाविसको मालमुल भीरमा भेटिएको हो। अघिल्लो दिन मध्यरातमा पल्टेको बस अर्कोदिन बिहान ११ बजेतिर स्थानीयले भीरमा झुण्डिएको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए। बसबाट ३१ हजार नगद र एउटा टेलिभिजन सेट भेटिएको प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक सूर्यबहादुर चन्दले भारतको लुदियानाबाट ४० जना पर्यटक बोकेर आएको बस यसरी फालिएको बताए। लुदियाना पञ्जावको अयोवालाका चालक रुपेन्द्र सिं र बसधनी पञ्जाव सहेरा सिटीका जगदीश सिंबीच हात हालाहाल भएको थियो। चालक फरार छन्। बस सडकबाट २० मिटर तल खसेको छ। पर्यटकसहित बुटवलको मयुर होटलमा बास बसेका उनीहरुबीच झगडा भएपछि बसमा सुत्‍न भन्दै चालक होटलबाट निस्केका थिए। 'रक्सी खाएर झगडा गरेपछि हिँडेका चालक राति नै बस चलाएर पाल्पा आएछन्,' इन्स्पेक्टर चन्दले भने। 

पाल्पा–बुटवल सिमानाको दोभान प्रहरी चौकीमा राति ११ बजे बस पाल्पातर्फ लागेको रेकर्ड छ। 'हामीले बिहान १० बजेतिर भीरमा पल्टेको बस देख्यौं र प्रहरीलाई खबर गर्‍यौं', स्थानीय दीपक कुँवरले भने- ओरालोमा न्युट्रलमा बस छाडेर चालक आफू भागेका जस्तो लाग्यो। रातको करिव १ बजेतिर बस पल्टेको हुनुपर्ने प्रहरीले जनाएको छ। बसमा भेटिएको डायरीका आधारमा फोन गरेर प्रहरीले गाडीधनी पत्ता लगाएर पाल्पा झिकाएको छ।

बुटवलबाट घटनास्थलसम्म बीचमा जिल्ला प्रहरी कार्यालय तानसेन, इलाका प्रहरी कार्यालय प्रभास र दुई प्रहरी चौकी दोभान र हार्थोक चौकी छन्। प्रहरीले जिल्लामा मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेलाई कारबाही तीब्र पारेको छ। तर मातेका चालकले एक्लै पर्यटक बस बुटवलबाट पाल्पा ल्याएर भीरमा खसालिदिएपछि प्रहरी पनि जिल्ल परेका छन्। प्रहरी नायव उपरीक्षक मीरा चौधरीले घटनाबारे अनुसन्धान भइरहेको बताइन्।
स्रोत :नागरिक न्युज 

Posted by Butwalonline on 5:42 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "गाडीधनीसँग झगडा भएपछि रक्सीले मातेका चालकले बस भिरबाट पल्टाइदिए"

Leave a reply