प्रेमीसित घुम्न गएकी एक किशोरीले अपहरणमा परेको बहाना गर्दा आफैं फन्दामा
काठमाडौ, चैत्र ५ - प्रेमीसित घुम्न गएकी एक स्कुले किशोरीले अपहरणमा परेको बहाना गर्दा आफैं फन्दामा परेकी छन् । टोखाको मनोहर माविमा ६ कक्षा पढ्ने लमजुङ घर भएकी गौरी घलेले यस्तो बहाना बनाएकी हुन् । फागुन ३० गतेदेखि उनी हराएको उजुरी परिवारले प्रहरीलाई दिएको थियो । प्रेमीसित घुम्न गएको भन्दा परिवारमा गाली खाइने भएकाले अपहरणको बहाना गरेको उनले प्रहरीलाई बताइन् ।
बहिनी अपहरणमा परेको भन्दै दाइले प्रहरीलाई जानकारी गराएका थिए । दाइले दिएको जानकारीअनुसार फोन आएको नम्बरमा अनुसन्धान अधिकारीहरूले फोन गरे । युवतीले रुँदै आफू अपहरणमा परेको, अँध्यारो कोठामा आफूलाई थुनेर राखेको र बाहिरपट्टी गुण्डाहरू बसेको बताइन् । प्रहरीले उनलाई झ्यालबाट कराउन सिकाए । उनले कोठामा झ्याल नै नभएको उत्तर दिइन् ।
अपराध अनुसन्धान महाशाखाको छतमा बसेर चिया खाइरहेका प्रहरी अपहरणको खबर पाउने बित्तिकै शनिबार अनुसन्धानमा खटिएका थिए । टेलिकमबाट फोन आएको नम्बरको 'डिटेल्स' र 'लोकेसन' पत्ता लगाउँदै अप्रेसन टोली किशोरीसम्म पुगेको थियो । 'फोनको लोकेसन गोंगबुतर्फ देखियो । गोंगबुको पश्चिमाञ्चल बाग्लुङ पर्वत गेस्टहाउसमा युवती फेला परिन्,' अनुसन्धानमा संलग्न अधिकृतले भने, 'त्यहाँ न अँध्यारो कोठा थियो न उनको अपहरण नै भएको थियो । राजीखुसीमा हिंडेकी किशोरीले अपहरणको नाटक गरेकी रहिछन् ।'
प्रहरीले १४ वर्षीया किशोरीलाई कसैले प्रलोभनमा पारेर बेच्न लगेको आशंका गरेको थियो । आफन्तहरूसँग सोधपुछ गरेर अनुसन्धान गरिरहेका बेला बिहीबार अचानक किशोरीले काठमाडौंबाटै फोन गरेकी थिइन् । त्यसअघि झापाको काँकडभिट्टाबाट फोन आएको थियो । प्रहरीका अनुसार फागुन ३० गते स्कुलमा परीक्षा सकिएपछि किशोरी प्रेमी अरुण तामाङसँग घुम्न निस्किएकी थिइन् । किशोरीको साथीको घरमा गएर स्कुल पोसाक बदलेको र साथीकै लुगा लगाएर घुम्न गएको प्रहरीले जनायो ।
३० गते उनीहरू सामाखुसीकै एउटा गेस्टहाउसमा बसेको, भोलिपल्ट बिहान स्वयम्भूमा घुम्न गएको, दिउँसो बालाजुको अष्टलक्ष्मी हलमा चलचित्र हेरको प्रहरी अनुसन्धानले देखाएको छ । उनको साथीले उनीहरूलाई प्रहरीले खोजेको खबर गरेपछि प्रेमी भने पक्राउ पर्ने डरले उनलाई सामाखुसीमा छाडेर काँकडभिट्टा गएको प्रहरीले पत्ता लगाएको छ । उनले काँकडभिट्टाबाटै अपहरण भएको भनेर फोन गरेका थिए ।
किशोरीले घर जान डराएर अर्को साथी सुरेनलाई बोलाएको प्रहरीले जनायो । उक्त गेस्ट हाउसमा उनी सुरेनसित बसेकी थिइन् । सञ्चालक गोविन्द पौडेलले अघिल्लो दिन साँझ एक युवकसँग गेस्टहाउसमा आएर ३०४ नम्बरको कोठामा बसेको अनुसन्धानमा खटिएको प्रहरीलाई बताएका थिए । 'केटोचाहिँ बिहानै उठेर हिंडेछ । होटल मालिकले सोध्दा 'एकैछिन बाहिर काम छ, र्फकन्छुु' भनेको रहेछ,' गेस्टहाउस सञ्चालकले प्रहरीलाई भनेको छ, 'दिउँसो युवती होटलको रिसेप्सनमा आइन् । फेरि माथि गइन् । आफ्नै सु्रमा थिइन् ।'
एक हूल प्रहरी अचानक गेस्टहाउसमा पुगेर अपहरण गरेको व्यक्ति होटलमा छ भन्दा होटल सञ्चालक झस्किएका थिए । प्रहरी भने अपहरणमा परेको भनिएकी किशोरी देखेपछि अचम्ममा परेका थिए । '३ दिनपछि घर र्फकने बहानाका लागि उनले आफू अपहरणमा परेको भन्दै नाताका मान्छेलाई खबर गरेकी रहिछन्,' प्रहरी अधिकारीले भने, 'केटीलाई घर त र्फकनुपर्ने नै थियो । घरमा गाली खानबाट जोगिन अपहरणमा परेको नाटक रचेकी रहिछन् ।' उनलाई शनिबार नै प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।
स्रोत :कान्तिपुर