स्वास्थ्य जीवन जिउनका लागि केहि उपयोगी टिप्सहरु
नीमको दतिवन गरौं
नीमले दाँत माझ्ने परम्परा प्राचीन हो । यस्ता परम्पराहरूमा वैज्ञानिकता हुन्छ । हाम्रा ऋषिमुनिहरूले कटु द्रव्ययुक्त वस्तुले दतिवन गर्दा राम्रो हुन्छ र त्यसमा नीम सर्वोत्तम रहेको बताएका छन् । नीमको दतिवनबाट दाँतमा कीरा मर्छन् । दतिवन गर्दा नीमको रस हाम्रो पेटमा पनि पुग्छ र त्यसले अरू बिमारी समेत निको हुन्छ । हामीले दिनहुँ एउटै ब्रसले दाँत माझ्दा त्यसमा ब्याक्टेरिया र भाइरस जम्मा हुन्छन्, जसबाट धेरै रोग लाग्ने सम्भावना हुन्छ । ब्याक्टेरिया र भाइरसले रोग ननिम्त्याऊन् भन्न ब्रसलाई दिनहुँ तातोपानीले धुनु अत्यावश्यक छ । तर दतिवन गर्दा हामी हरेक दिन स्वच्छ दतिवन प्रयोग गछौर्ं । त्यसैले रोग लाग्न पाउँदैन । नीमको दतिवनले गिजाको स्याहार गर्छ । पेटलाई पनि लाभ पुर्याउँछ ।
तामाको भाँडाको पानी खाऔं
पुरानो जमानामा मानिसहरू राति सुत्दा सिरानी नजिक तामाको भाँडोमा पानी राख्ने गर्थे । बिहान त्यो पानि खान्थे । सिरानीछेउ तामाको भाँडोमा पानी राख्दा शरीरले सकारात्मक ऊर्जा (पोजिटिभ एनर्जी) भेट्छ । नराम्रो सपना देखिँदैन । बिहान त्यो पानी खाँदा शरीरको ब्याक्टेरिया खतम हुन्छ, 'मोसन' ठीक हुन्छ । आधुनिक विज्ञानले पनि तामाका भाँडामा राखेका खाने-पिउने कुरामा जीवाणुले आक्रमण गर्न नसक्ने र भएका जीवाणु पनि नष्ट हुने तथ्य स्वीकार गरिसकेको छ । अचेलका मानिसहरू प्लास्टिकको बट्टामा पानी राख्छन्, राति ढिलो सुत्छन्, बिहान ढिलोसम्म सुत्छन् । त्यसैले शरीरको 'मोसन' ठीक हुँदैन र रोगव्याधिले आक्रमण गर्छन् ।
डिप फ्राई गरिएका वस्तु नखाऔं
अचेल क्यान्सरको महामारी जस्तै छ । यसको एउटा प्रमुख कारण डिप फ्राई गरिएका खाने कुरा खानु हो । बारम्बार एउटै तेलमा धेरै थोकलाई तारेर खाने गर्दा पनि क्यान्सर बढिरहेको छ । त्यसैले घरबाहिर तारेका, भुटेका चीजबीज खानबाट जोगिनुपर्छ । नत्र यस्ता हानिकारक खानेकुराबाट धेरै रोग लाग्ने सम्भावना हुन्छ ।
चिराइतो खाएर रगत शुद्ध राखौं
गाउँघरमा वर्षमा एक पटक चिराइतो सेवनको परम्परा अद्यापि छ । यो अभ्यास धेरै प्रभावकारी छ । चिराइतो खाँदा रगत शुद्घ रहन्छ । रोगव्याधि लाग्नुको कारण रगत अशुद्ध रहनु हो । रक्त शुद्धीकरणका लागि नीम पनि खान सकिन्छ । यस्ता प्रभावकारी पदार्थहरूको उपयोग नियमित रूपमा गर्नुपर्छ ।
हत्तपत्त औषधि नखाऔं
हामीले रोगी नहुने प्रयत्न गर्नुपर्छ । कथंकदाचित् बिमारी भइहाले पनि त्यसलाई सुरुमा प्राकृतिक रूपले नै निको पार्ने कोसिस गर्नुपर्छ । एक छिन टाउको दुख्दैमा, रूघा वा खोकी लाग्दैमा तुरुन्त एलोप्याथिक औषधि खान हतार गर्नु हुन्न । यस्ता रोगले लामो समय दुःख दिँदैनन् । तर यिनलाई निको पार्न सेवन गरिने औषधिले भोलिका दिनमा क्यान्सर लाग्न सक्छ, कलेजो क्षतिग्रस्त हुन सक्छ वा त्यसमा सिरोसिस हुन सक्छ, मृगौला काम गर्न छोड्न सक्छ । त्यसैले केही सामान्य रोग, भाइरल वा ब्याक्टेरियल इन्फेक्सनलाई एउटा सीमासम्म सहन गर्ने बानी बसाल्नुपर्छ । त्यस्ता झिनामसिना रोगले शरीरको विषाक्तता/टक्सिन निकाल्छन् । त्यस्ता पदार्थ निस्कँदा हाम्रो शरीरभित्रको प्रणाली चंगा हुन्छ । जीवाणु संक्रमणका १२/१३ सय प्रजाति हुन्छन् । सबैको औषधि बनेको छैन, बन्न सक्दैन पनि । औषधि खाए चार/पाँच दिनमा निको हुन्छ, नखाए पनि चार दिनमा निको हुन्छ । अनि औषधि किन खाने ? यस्ता साना बिमारी लाग्दा पर्याप्त तातो पानी खाऔं, खानामा परहेज गरौं, घरमै आराम गर्ने गरौं ।
दिनहुँ बीस मिनेट योग गरौं प्राणायाम वा योगासन गर्न समय नभएकाहरूलाई शौच गर्न आधा घन्टा वा बीस मिनेट लाग्छ । तर दिनहुँ बीस मिनेट प्राणायाम गर्ने व्यक्तिलाई शौच गर्न दुई/तीन मिनेट मात्रै लाग्छ । यसैले नियमित रूपमा प्राणायाम वा योगासन गरेर हामीले समयको वचत गर्न सक्छौं । त्यस्तै, कुनै निर्णय लिन तपाईंलाई घन्टौं लागिरहेको हुन सक्छ । वा, त्यति समयमा पनि निर्णय लिन नसकिरहनुभएको हुन सक्छ । तर नियमित रूपमा प्राणायाम वा आसन गर्दा चाँडो टुंगोमा पुग्ने क्षमता विकास हुन्छ । यसबाट पनि समयको बचत हुन्छ । प्राणयाम वा आसन गर्न केही समय लाग्छ, त्यसलाई समयको दुरुपयोग सोच्नु हुन्न । यो जीवनभरिका लागि उपयोगी हुन्छ ।
साभार :कान्तिपुर (स्रोतः वैद्यराज आचार्य बालकृष्ण, दिव्य योग मन्दिर, हरिद्वार, भारत)