|

एसएलसीमा चिट चोराउनेलाई एक लाख जरिवाना

काठमाडौं, चैत १ - एसएलसीमा चिट चोराउने केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षकलगायत कर्मचारीलाई ठाउँको ठाउँ कारबाही गरिने भएको छ। त्यस्ता कर्मचारीलाई एक लाख जरिवाना, ६ महिना कैद वा दुवै  कारबाही हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ। तिनीहरुलाई शान्ति सुरक्षा ऐनअन्तर्गत कारबाही गरिने परीक्षा नियन्त्रक डिल्लीराम रिमालले बताए। 'परीक्षामा खटिएका केन्द्राध्यक्षलगायत कर्मचारीबाटै अमर्यादित काम भएको र प्रक्रिया मिलाएर ढिला कारबाही गर्दा प्रभावकारी भएन,' रिमालले भने, 'त्यही भएर यस वर्ष ठाउँको ठाउँमै एक लाख जरिवाना, ६ महिना कैद वा दुवै कारवाही गरिने व्यवस्था गरेका हौं।' त्यस्ता व्यक्तिको अभिलेखसमेत कार्यालयमा राखिने भएको छ। 'विभागीय कारबाही गर्न उनीहरूको अभिलेख राखी बढुवा रोकिने छ,' उनले नागरिकसँग भने, 'परीक्षामा चिट चोर्ने र चोराउने अभिभावकलाई समेत सार्वजनिक अपराध ऐनअन्तर्गत कारबाही हुन्छ।
' चैत ७ मा सुरु हुने एसएलसीमा यस वर्ष ५ लाख २८ हजार २ सय ५७ परीक्षार्थी छन्। तिनीहरूका लागि १ हजार ७ सय ४८ परिक्षा केन्द्र निर्धारण गरिएको छ।प्रत्येक केन्द्रमा २५ विद्यार्थी बराबर एक निरीक्षक र १ हजार ७ सय ४८ केन्द्राध्यक्षको व्यवस्था गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यस वर्ष परीक्षा केन्द्र तोकिएको विद्यालयको माध्यमिक तहको योग्यता पुगेको प्रधानाध्यापक नै केन्द्राध्यक्ष हुने व्यवस्था गरिएको छ। प्रश्नपत्र र उत्तरपुस्तिका सबै जिल्लामा पुर्‍याइसकेको कार्यालयले जनाएको छ। 
स्रोत :नागरिक 

Posted by Butwalonline on 6:53 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "एसएलसीमा चिट चोराउनेलाई एक लाख जरिवाना"

Leave a reply