|

तीन महिने सुत्केरीको हत्या गरेको शङ्कामा सासू र देवर सहित उनका पति पक्राउ

 चौतारा, चैत ४- तीन महिने सुत्केरीको हत्या गरेको शङ्कामा प्रहरीले उनका पति, सासू र देवरलाई पक्राउ गरेको छ। सिपापोखरे–७ की २२ वर्षीया शर्मिला भट्टराई शनिबार बिहान आफ्नै घरको बुइगलमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। 

घाँटीमा पटुकाको पासो लगाए पनि दुवै घुँडाले भुइँ छोएको पाइएपछि प्रहरीको प्रारम्भिक अनुसन्धानले हत्या शङ्का गरेको हो। घटनास्थलमा रहेका भीमटार प्रहरी चौकी इन्चार्ज असई कृष्ण सिलवालले मृतकका पति सुदीप, सासू देवी र देवर उदीपलाई पक्राउ गरेको जानकारी  दिए। उनीहरुलाई इलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा राखिएको छ।

काभ्रेको होक्से गाविस माइती रहेकी शर्मिला महिना दिन सुत्केरी बसेर दुई साताअघि मात्र घर फर्केकी थिइन्। तीन वर्षअघि विवाह बन्धनमा बाँधिएका भट्टराई दम्पतीको पहिलो सन्तान छोरा छन्। मृतकको घाँटीमा चोटसमेत रहेका असई सिलवालले बताए।  स्थानीयको भनाई उदृत गर्दै उनले दिएको जानकारीअनुसार भट्टराई दम्पतीको बेला–बेलामा झगडा परिरहन्थ्यो। झगडा पर्दा पतिले सौता हाल्ने धम्की दिँदै आएका थिए। माइती पक्ष आएर चार पटक झगडा मिलाएको थियो।

घर पक्षका सदस्यले भने बिहान घरमा कोही नभएको मौका छोपी आत्महत्या गरेको दाबी गरेको छ। बिहान नौ बजे घटनाको जानकारी आएपछि भीमटार चौकीबाट टोली त्यहाँ पुगेको थियो। घटनास्थल जाँदै गरेका नवलपरका इन्स्पेक्टर कुमार पण्डित क्षेत्रीले अनुसन्धानपछि वास्तविकतामा पुगिने बताए।
स्रोत :नागरिक 

Posted by Butwalonline on 7:31 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तीन महिने सुत्केरीको हत्या गरेको शङ्कामा सासू र देवर सहित उनका पति पक्राउ"

Leave a reply