मेलामा चहलपहल बढ्दो, कृषि उपजले प्राथमिकता पायो
मुक्तिप्रसाद न्यौपाने
फागुन ११, पाल्पा
पश्चिमाञ्चल औद्योगिक व्यापार मेला, कृषि प्रर्दशनी एवं पर्यटन महोत्सवमा मेलाको सातौँ दिनसम्ममा करीब तीन करोडको कारोबार भएको मेला आयोजकले जनाएको छ । आयोजकले फागुन १३ गतेसम्म चल्ने मेलामा चार करोडको कारोबार हुने दावी गरेको थियो ।
कृषिका साथै अटोमोवाइल्स र अर्गानिक ग्राममा सर्वाधिक कारोबार भएको छ, ९ दिनसम्म चल्ने महोत्सवमा लोपोन्मुख सामाग्री र पश्चिमाञ्चलका १६ जिल्लाको फोटो प्रदर्शनीले दर्शक तानेको छ । कृषि सामग्री, गाउँले मौलिक
परिकारमा पनि आकर्षण छ । सूचना प्रविधि र बैंक एवं वित्तीय संस्थाका स्टलमा आगन्तुकको चासो बढेको छ । मेलामा पाल्पा कारागारका बन्दीले बनाएका बाँसका घरेलु सामग्री, जिल्ला वन कार्यालय पाल्पाले राखेको स्टलमा चिउरीबाट बनाएको अर्गानिक साबुन, ग्रामीण आर्थिक विकास संघ रेडाले राखेको सुधारिएको चुलोप्रति अवलोकन कर्ता झुम्मिएको कृषि उपसमितिका संयोजक मुक्तिराम जिसीले बताए ।
महोत्सवमा पहिलो पटक हेलिकोप्टरबाट पाल्पा, गुल्मी र स्याङ्जाका पर्यटकीय र ऐतिहासिक स्थालको अवलोकन गराईएको छ । फाइभ फ्रेण्डस्को संयोजन रहेको हेलिकप्टर दृश्यावलोकनमा दुईसय जनाले हेलिकप्टरको उडान गरेका संयोजक धर्मेन्द्र गुप्ताले बताए । सिम्रिक एयरले हेलिकप्टर दृश्यावलोकनको व्यवस्था मिलाएको हो ।
मेलामा विश्वकै ठूलो पाल्पाली करुवा, रानीमहलको प्रतिमूर्ति स्वरुप, पश्चिाञ्चल क्षेत्रका बिभिन्न स्थानका फोटो प्रर्दशन, बाल उद्यानलगायतमा दर्शकको भीड लागेको मेला प्रचार प्रसार समितिका संयोजक भुषण राजलवटले जानकारी दिए ।