|

विद्यार्थीहरूले विद्यायलमै काम्न र पूजाआजा गर्ने थालेपछि विद्यालय बन्द

उर्लाबारी, पुस २१ - मोरङको हरैँचास्थित एक विद्यालयका विद्यार्थीहरूले विद्यायलमै काम्न र पूजाआजा गर्ने अनौठो क्रियाकलाप प्रस्तुत गर्न थालेपछि त्यहाँ उनीहरूलाई हेर्ने हजारौंको भिड बढेको छ ।

तीन दिनयता जनता उच्च माध्यमिक विद्यालयका आठजना छात्राले अचानक चुडेल आयो, भूत आयो भन्दै काम्न र विद्यालयमै पूजा गर्न थालेपछि त्यस्तो अनौठो क्रियाकलाप हेर्नेको भिड लागेको हो । भिडलाई नियन्त्रण गर्न समस्या परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार त्यहाँ कक्षा ६ देखि ८ सम्मका आठजना छात्राले भूत आएको भन्दै अनौठो क्रियाकलाप गर्न सुरु गरेका थिए ।

सो दिन बन्द गरिएको विद्यालय बुधबार खोलेर पढाउन थाल्दा उनीहरूले पुनः सोहीखाले क्रियाकलाप देखाएपछि विद्यालय बन्द गर्नुपरेको प्रधानाध्यापक भोलानाथ बजगाईंले बताए ।

हरैँचा र बनिगामा गाविस घर भएका ती विद्यार्थीका अभिभावकले भूत लागेको भन्दै घरमा धामीझाँक्रीसमेत लगाएर पूजापाठ गरिरहेका छन् । हरैँचाकी बिनु खवासको घरमा बुधबार भेला भएका हजारौँले पूजापाठ र नाचगान गरेका थिए । तर, यसबारे बुझ्न गएका सञ्चारकर्मीलाई परिवारजनले केही भन्न चाहेनन् ।

बिरामीहरूले आफ्नाबारे कसैलाई केही नभन्नु भनेकाले उनीहरूको ज्यानमा तलमाथि हुनसक्छ भनेर केही नभनेको भेलामा सहभागी एक अभिभावकले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा बताए ।

मास हिस्टेरियाका कारण त्यस्तो भएको हुनसक्ने उनीहरूका छिमेकीले अनुमान गरेका छन् । तर त्यहाँका बासिन्दा भूतप्रेतको खेलमा विश्वास गर्दै पूजाआजामा व्यस्त छन् । यसबारेमा छिमेकीसमेत केही बोल्न चाहँदैनन् ।

रासस

Posted by Butwalonline on 5:19 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "विद्यार्थीहरूले विद्यायलमै काम्न र पूजाआजा गर्ने थालेपछि विद्यालय बन्द"

Leave a reply

ताजा अपडेट

तपाईंका प्रतिक्रियाहरु