|

हतारमै गरियो लुम्बिनी भ्रमण वर्ष २०१२ को शुभारम्भ

काठमाडौ, माघ १ - लुम्बिनी, जहाँ शनिबार भ्रमण वर्ष २०१२ को शुभारम्भ भयो । केन्द्रीय नहरमा बनाइएको मञ्चमा ठूलो दीप राखिएको थियो । करिब ५ सय मिटरको दूरीबाट ३ वटा डुंगामा दीप जलाउने ज्वाला ल्याइँदै थियो । पाँच हजारको संख्यामा रहेका सहभागी सबैको मुहारमा खुसी थियो ।

घोषणा गरिएको समयभन्दा झन्डै तीन घन्टा ढिलो सुरु भएको कार्यक्रममा राष्ट्रपति रामवरण यादवले साझ पूर्वखेलाडीहरू संगिना वैद्य र वैकुण्ठ मानन्धरले दिएको ज्वालाद्वारा दीप प्रज्वलित गरी लुम्बिनी भ्रमण वर्ष, २०१२ को शुभारम्भ भएको घोषणा गरे ।

'पर्यटन वर्ष २०११ सम्पन्न भएको छ, त्यसलाई सफल बनाउन सघाउनेलाई धन्यवाद छ,' राष्ट्रपति रामवरण यादवले भने, 'यसरी राष्ट्रले सुरु गरेको लुम्बिनी वर्षलाई पनि सफल बनाउन सबैको सहयोगका लागि आग्रह गर्छु ।'

यहाँ आउने विदेशी पाहुनालाई विशेष आतिथ्य प्रदान गर्न सबैलाई सहयोग गर्न आग्रह गरेका राष्ट्रपति यादव भैरहवामा रहेको समस्याप्रति सायद अनभिज्ञ थिए । किनकि सबैभन्दा बढी पर्यटक -१ लाख २९ हजार) भित्रने नाका सुनौलीमै उनीहरूले २ देखि साढे दुई घन्टा जाममा बिताउनुपर्छ । लुम्बिनी आएपछि १ वा दुई दिन घुमेपछि अन्य गतिविधि उनीहरूले पाउँदैनन्् । यो कुरालाई लुम्बिनी विकास कोषकै एक प्राविधिक कर्मचारीले स्विकारेका छन् ।

'भ्रमण वर्ष २०१२ घोषणा हुनु राम्रो हो, तर हतारमा गरियो कि जस्तो लागेको छ,' बृहत्तर परियोजनामा संलग्न ती कर्मचारीले भने 'काम गराउन माथिल्लादेखि तलसम्मै मनाउनुपर्ने समस्या छ ।'

भ्रमण वर्षले लुम्बिनीको परियचलाई विस्तार गर्न सघाउने दाबी गर्छन््, पर्यटन सचिव गणेशराज जोशी । 'लुम्बिनीको नयाँं युग निर्माणको सुरुवात भएको छ,' उनले भने । सचिवले दाबी गरेअनुसार युग निर्माण होला भन्नेमा कार्यक्रममा उपस्थित भएका केहीको भनाइले आंशका जन्माएको छ । नन्दनगरका घरभरन लोहर भीडभाड देखेर कार्यक्रममा सहभागी भएका थिए । 'लुम्बिनीमा काम केही भएको छैन, उनले भने, तैपनि यो अभियान सफल हुनुपर्छ ।' त्यस्तै जोगडा गाविसका अयोध्या पासवानले राष्ट्रपति आउने खुशियाली मनाउन कार्यक्रमस्थल पुगेको बताए ।

पर्यटन तथा नागरिक उड््डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पर्यटन बोर्ड र कार्यक्रमसँग सम्बन्धितलाई बाहेक अन्यलाई कार्यक्रमबारै कमै जानकारी थियो । हुन त सरकारले स्थानीय रेडियो र पत्रपत्रिकामा भ्रमण वर्षबारे प्रचार- प्रसार गरेको थियो । तैपनि हतारमा भएको कार्यक्रमबारे राम्रो तयारी नभएको पर्यटन बोर्डका दीपक जोशीले बताए । 'अन्तिममा कार्यक्रमको मिति तय भएकाले खासै तयारी हुन सकेन,' उनले भने 'विमानस्थल, भैरहवा बजारलागयत स्थानमा पोस्टरहरू टास्न पाएको भए अझै बढी सहभागी हुने थिए ।' उनको यो भनाइलाई चरितार्थ गर्ने दृश्य कार्यक्रमको स्थल वरपरकै पर्खालमा साँझ ४ बजेतिर मात्र लुम्बिनी भ्रमण वर्षको तुल टांगिँदै थियो ।

यसलाई पर्यटन सचिव जोशीले भने नकारात्मक रूपमा नलिइदिन आग्रह गरे । 'लुम्बिनीका लागि यो सुरुवात हो,' उनले भने 'यो वर्षभरी यसका लागि आवश्यक विकासका काम गरिनेछ ।'

Posted by Butwalonline on 6:34 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "हतारमै गरियो लुम्बिनी भ्रमण वर्ष २०१२ को शुभारम्भ"

Leave a reply