बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्तिको सन्देश फैलाउनु आबस्यक
बुटवल, मङ्सिर १५- प्रधानमन्त्री बाबुराम भट्टराईले विश्वमा हतियारको होडबाजी चलिरहेको अवस्थामा बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्तिको सन्देश फैलाउनुपर्ने बताएका छन्। उनले बुद्धको शान्ति सन्देश विश्वमा फैलाउन सकिए नेपालको शान्ति-प्रक्रियाको सन्देशसमेत जाने भएकाले यो अवसरलाई विश्वमाझ लैजान सक्नुपर्ने विचार राखे प्रधानमन्त्री भट्टराईले सरकारले लुम्बिनीको विकासका लागि आर्थिक सहयोग जुटाउने र आन्तरिक तथा बाह्य पर्यटक नेपाल भित्र्याउने उद्देश्यले आगामी वर्ष लुम्बिनी भ्रमण वर्ष २०१२ को आज बुद्ध जन्मस्थल लुम्बिनीमा घोषणा गर्दै भ्रमण वर्षको उद्देश्य विश्वमा शान्तिको सन्देश दिनु पनि प्रमुख रहेको बताए।
उनले नेपालमा चिरस्थायी शान्ति र लोकतान्त्रिक संविधान संस्थागत गर्ने बेलामा शान्ति क्षेत्र लुम्बिनी भ्रमण वर्ष आयोजना हुनुले नेपालमा दिगो शान्तिको सन्देश फैलिने स्पष्ट पारे।
प्रधानमन्त्री भट्टराईले लुम्बिनी भ्रमण वर्षको आयोजना समग्र नेपालीका लागि सुखद रहेको बताउँदै भ्रमण वर्षले लाखौं पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले धर्मलाई विकाससँग जोड्न सके र विश्वभरका बौद्धमार्गीलाई लुम्बिनी ल्याउन सके देश विकासका लागि निकै लाभदायी हुने बताए।
उनले सरकार लुम्बिनी विकासका लागि केन्द्रित रहेको र लुम्बिनी गुरुयोजनासँगै बुद्धको जीवनीसँग सम्बन्धित रामग्राम, कपिलवस्तु र देवदहलाई जोडेर एकीकृत विकास गर्नुपर्ने आवश्यकतामा जोड दिए।
प्रधानमन्त्री भट्टराईले लुम्बिनी नेपाल र नेपालीको मात्र नभै विश्वभरका बौद्धमार्गीको असीम आस्थाको केन्द्र भएकाले यहाँको विकासका लागि अन्तर्राष्ट्रियरूपमै पहल भैरहेको समेत बताए।
घोषणा कार्यक्रममा पर्यटन तथा नागरिक उड्ययनमन्त्री लोकेन्द्र विष्टमगरले लुम्बिनीलाई शान्तिभूमि, ज्ञानभूमि र कर्मभूमिको रूपमा विकास गर्नुपर्ने बताए।
वनमन्त्री मोहम्मद वकिल मुसलमानले लुम्बिनी क्षेत्र भन्नासाथ सरकारले अधिग्रहण गरेको क्षेत्रलाई मात्र नलिएर वरिपरिका बासिन्दालाई पनि समेट्नुपर्नेमा जोड दिए।
सरकार र कोषले लुम्बिनी क्षेत्रका बासिन्दालाई उपेक्षा गर्दै आएको आरोप लगाउँदै उनले अब पनि यस्तै भए स्थानीय बासिन्दा चूप नलाग्ने चेतावनी दिए।
संस्कृतिमन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष गोपाल किरातीको अध्यक्षतामा भएको सो घोषणा कार्यक्रममा अर्थ राज्यमन्त्री हरिराज सेवा, लुम्बिनी विकास कोषका उपाध्यक्ष आचार्य कर्मा स्याङ्बो, सदस्यसचिव राजेन्द्र थापालगायतले पनि बोलेका थिए। रासस
स्रोत : नागरिक न्युज