|

तराईमा शीतलहरबढेपछि जनजीवन कस्टकर २२ जनाको मृत्यु

जनकपुर, पुस ५ -एक सातादेखिको निरन्तर शीतलहरले बढेको चिसोका कारण महोत्तरीमा एकै रात ९ जनाको मृत्यु भएको छ। आइतबार रातिदेखि सोमबार साँझसम्म एउटै गाउँ सिङ्याहीका ६ र अन्य गाउँका ३ जनाको मृत्यु भएको हो। योसहित महोत्तरीमा साताभित्रै चिसोले मृत्यु हुनेको संख्या १४ पुगेको छ। धनुषामा १ जनाले ज्यान गुमाएका छन् भने रौतहटमा ६ र पर्सामा १ जनाको मृत्यु भइसकेको छ।

स्थानीयका अनुसार महोत्तरीमा अत्यधिक चिसोले मृत्यु हुनेमा सिङ्याही गाविसका ६५ वर्षीय महेन्द्र राउत, ६२ वर्षीया सोनिया पासवान, ६२ वर्षीय भवारी पासवान, ७५ वर्षीय माउजे ठाकुर, इलिया मण्डल, सोनाबती बटार छन्। स्थानीय प्रहरीले भने राउत र पासवानको मृत्यु मात्र पुष्टि गरेको छ। प्रहरीका अनुसार नैन्ही गाविसका रामनारायण पाण्डे, बथनहा गाविसका पप्पु झा र मनरा गाविसका बनारसीदेवी साहको पनि मृत्यु भएको छ। चिसोले मृत्यु हुने सबैजसो वृद्धवृद्धा छन्।
महोत्तरीमै यसअघि चिसोले ५ जनाको मृत्यु भइसकेको छ। महोत्तरी मटिहानीस्थित लक्ष्मीनारायण मठका साधु ९० वर्षीय लक्ष्मणदास वैष्णव, हरिणमरी-९ का ७० वर्षीय उत्तिम सरदार, सोनौल -२ का ५२ वर्षीया शान्तिदेवी, सुगा -५ का १३ वर्षीय लाल मोहम्मद धोबी र जाउखका ६५ वर्षीय अघनु मण्डलले साताभित्रै चिसोका कारण ज्यान गुमाएका हुन्।
धनुषा रघुनाथपुर-२ किरकपुरका ६३ वर्षीया बुधनीदेवी यादवको अत्यधिक चिसोले आइतबार मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
चिसो बढेपछि स्थानीय प्रश्ाासनले जनकपुरका डेढ दर्जन चोकमा धुनी बालेर आगो ताप्ने व्यवस्था मिलाएको छ। जिल्ला रेडक्रस, जनस्वास्थ्य कार्यालय, जिल्ला विकास समिति, वन र महिला विकास कार्यालयका प्रमुखहरूको बैठकले चोकचोकमा आगो ताप्ने व्यवस्था मिलाउने निर्णय गरेको धनुषा प्रशासनका अधिकृत श्रवण साहले जानकारी दिए।
हुस्सुले 'भिजिबिलिटी' नपुगेर मंगलबारदेखि जनकपुर विमानस्थलमा उडान बन्द भएको छ। बुद्ध र यति एयरलायन्सले जनकपुर-काठमाडौंमा दैनिक चार उडान भर्दै आएका छन्। चिसोले सडकमा सवारी साधनको संख्या घटेको छ। जनकपुरस्थित बाबा आयलका सञ्चालक विष्णुदेव साहका अनुसार केही दिनयता पेट्रोल भर्न आउने मोटरसाइकल र जिपको संख्या आधा घटेको छ।
शीतलहरले पशुपंक्षी र बालीनालीमा पनि असर पारेको विशेषज्ञ बताउँछन्। ‘शीतलहरले गहुँ, टमाटर, आलु, प्याज र लसुनलगायत तरकारीमा असर पारेको छ,' धनुषा कृषि विकास कार्यालयका प्रमुख विष्णुदेव यादवले भने। अहिले धान काटेर गहुँ लगाउने याम हो। चिसोमा गहुँ छर्दा राम्ररी उम्रन नसक्नेे भएकाले किसान मर्कामा परेका छन्। शीतलहरले आलु, टमाटर र प्याजमा डढुवा लागेको उनले बताए।
तराईमा अत्यधिक चिसो बढेकाले वीरगन्जको एक निजी कलेजका विद्यार्थीले सोमबार वीरगन्ज-१८ पिपरामठका विपन्न बालबालिकालाई पुराना कपडा वितरण गरे।
                                                                                                                                                                                          स्रोत :नागरिक

Posted by Butwalonline on 11:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "तराईमा शीतलहरबढेपछि जनजीवन कस्टकर २२ जनाको मृत्यु"

Leave a reply