हत्याको विरोधमा भोली शुक्रबार रुपन्देही बन्दको आह्वान
बुटवल,७ पुस । कालिकोट जुविथा ६ का मनविर सुनारको चुल्हो छोएको निहुमा हत्या भएको विरोधमा संयुक्त संघर्ष समिति रुपन्देहीले भोली शुक्रबार बन्द गर्ने भएको छ ।
रुपन्देहीका विभिन्न दल निकटका जनबर्गिय संगठनहरुले संयुक्त रुपमा रुपन्देही बन्दको आह्वान गरेका हुन् ।
उनीहरुले मनविर सुनारलाई सहिद घोषणा गर्नुपर्ने,परिवारलाई क्षतिपूर्ति र दोषीलाई कडा कारवाहिको माग गर्दै बन्द आहवान गरेका हुन् ।
बुटवलमा प्रदर्शनी संचालन अवधिभर बन्द नगर्ने माउ पार्टिहरुले प्रतिबद्धता जनाएपनि सुनारको हत्यामा सरकार र दलहरु कसैले पनि वास्ता नगरेको भन्दै बन्द गरिएको दलित मुक्ति मोर्चाका पदम विश्वकर्माले बताउनुभयो ।
दलित मुक्ति मोर्चा,नेपाल दलित संघ,उत्पीडित जातिय मुक्ति समाज,समता समाज सहितका विभिन्न जनबर्गिय संगठन र दलित अधिकारकर्मिहरुले संयुक्त रुपमा बन्द आह्वान गरेका हुन् ।
छुवाछुत्त मुक्त राष्ट्र घोषणा भईसकेको अवस्थामा चुल्हो छोएको निहुँमा हत्या हुदा सम्म सरकारले यो घटनालाई गम्भिरताका साथमा नहेरेको मुक्ति समाजका नन्दलाल खड्काथोकीले बताउनुभयो । उहाले प्रशाशसनलाई दवाव दिनको लागि बन्द आह्वान गरिएकाले एम्बुलेन्स,दुध बोक्ने गाडी,प्रेस लगायतका अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायातका साधन संचालन नगर्न आग्रह गर्नुभयो ।
यसैविच संघर्ष समितिले प्रदर्शनीका लागि बुटवल आएका वेला प्रधानमन्त्रि डा. बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझेपनि प्रधानमन्त्रिले कुनै पनि जवाफ नदिएको भन्दै सरकारले यो घटनालाई वेवनस्ता गरेको संघर्ष समितिले जनएको छ । यस्तै रुपन्देही बन्दको पुर्वसन्ध्यामा दलितहरुले विहिबार बुटवल र भैरहवामा मसाल जुलुश प्रदर्शन गरेका थिए ।