|

न्युयोर्कको गल्लीमा एक नेपाली युवक बेवारिसे अवस्थामा

न्युयोर्क, मंसिर ९ - आमाका बिलौना कम्ती हृदयविदारक छैनन् । छोराको हरेक प्रसंगपिच्छे आँसुका बलिन्द्रधारा बगाउँछिन्, उनी । हुन पनि किन नहोस् । छोरा, न्युयोर्कको गल्लीमा बेवारिसे अवस्थामा छन् । सुत्ने, खाने सडकमै । पश्चिमी भाषामा 'होमलेस' । रक्सीको कुलत र न्युयोर्कको ठन्डीले अवस्था गम्भीर बन्दै गएको छ ।

त्यसमाथि 'होमलेस' का रूपमा गरिने उनीमाथिको दृव्र्यवहारले जो कोही नेपाली भाषीलाई बिझाउँछ । तर समस्या यतिमै सीमित छैन । झन्डै एक वर्षअघिदेखि यो अवस्थामा रहेका उनलाई घर फर्काउन आमा न्युयोर्क आएको दुई महिना बितिसक्यो । तर छोरा रमणराज पाण्डे र्फकन मान्दैनन् ।

जबर्जस्ती फर्काउन अमेरिकी कानुनले दिँदैन । अब के गर्ने ? मुख्य समस्या यहाँनिर छ । 'आफ्नै आँखाले छोराको यो अवस्था देखेपछि म कसरी रित्तै नेपाल फर्किन सक्छु ?' शारीरिक रूपमा अशक्त देखिँदै आएको आमा रूपाले आँसु झार्दै भनिन्, 'उच्चशिक्षाका लागि अमेरिका आएको छोरो यस्तो भयो ।'

नेपाल फर्काउने आमाको इच्छामा छोराको नाइनास्ती र अमेरिकी कानुन तगारो बनेका छन् । 'फर्काउन पनि गाह्रो छ, नफर्काए स्थिति गम्भीर बन्दै गएको छ,' पाण्डेलाई थोरबहुत रेखदेख गर्ने रेस्टुरेन्ट व्यवसायी दुर्गा गुरुङले भने ।

छ वर्षअघि अमेरिकामा पढ्न आएका २६ वर्षीय रमण काठमाडौंको सम्भ्रान्त परिवार, तत्कालीन दरबारका बडागुरु पाण्डे खलकका सदस्य हुन् । न्युयोर्क युनिभर्सिटीमा फोटो पत्रकारिता पढ्दापढ्दै छोडेका उनी त्यसपछि सानोतिनो काम गर्दै आएका थिए । केही वर्षअघि बुवाको निधनपछि उनमा पिउने लत एकाएक बढ्यो । त्यसपछि उनी साथीभाइ अनि परिवारको घुलमिलबाट अलग्गिँदै गए ।

नेपाली समुदायमा सक्रिय शैलेश श्रेष्ठका अनुसार धेरैपटक उनका आफन्त एवं नेपाली समुदायले उपचारका लागि थुप्रै अस्पताल पुर्‍याए पनि उनमा कुनै सुधार आएन । आठ महिनाअघि समाजसेवी एवं व्यवसायी मोहन ज्ञवालीको अगुवाइमा पाण्डेलाई नेपाल फर्काउने दुईपटक प्रयास असफल भए । ज्ञवालीले कान्तिपुरसँग भने, 'पहिले उनी राजी भए तर एयरपोर्ट जाने क्रममा बीच बाटामा पुगेपछि नेपाल पठाउन खोजे आत्महत्या गर्छु भनेपछि हामी उनलाई यतै ल्याउन बाध्य भयौं ।' दोस्रोपटक उडानको दिन एयरपोर्ट जानै मानेनन् ।

छोरा फर्काउन अमेरिका आउनुअघि आमाले परराष्ट्र मन्त्रालयमा निवेदन दिएकी थिइन् । न्युयोर्कस्थित नेपाली नियोगले यसबारे पहल गर्दै आएको पनि छ । राष्ट्रसंघीय नेपाली नियोगका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले यसबारे न्युयोर्कका मेयर वा सम्बन्धित अधिकारीलाई भेट्ने पहल गरिरहेका छन् ।

यसअघि कानुनीरूपमा पाण्डेलाई नेपाल सुपुर्दगी गरियोस् भन्ने नेपाली समुदायको आग्रहलाई न्युयोर्कस्थित अध्यागमनको डिपोर्टटेसनसम्बन्धी निकाय इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट -आईसीई) ले अस्वीकार गरेको छ । विद्यार्थी भिसामा आएका उनले अमेरिकी बसाइको वैधानिकता गुमाइसकेका छन् ।

'नेपाल सरकारले अमेरिकी सरकारसँग समन्वय गरे निकासको सम्भावना रहन्छ', वकिल विनोद रोकाको सुझाव छ ।
                                                                                                                                    स्रोत : कान्तिपुर 

Posted by Butwalonline on 2:10 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "न्युयोर्कको गल्लीमा एक नेपाली युवक बेवारिसे अवस्थामा"

Leave a reply