घाम नलागेपछि तम्घासमा चिसो बढ्यो
गुल्मी
तिन दिन देखि घाम नदेखिएपछि सदरमुकाम तम्घास सहित जिल्लाभर अत्याधिक चिसो बढेको छ ।
घाम नै नदेखिने गरी चिसो बढेपछि तिहार लगत्तै धान थन्क्याउने चटारोमा लागेका किसानहरु समेत अन्योलमा परेका छन् ।
सदरमुकाम तम्घासमा अध्याधिक चिसो बढेपछि विभिन्न गाविसहरुबाट सेवाका लागि तम्घासका सरकारी कार्यालयहरुमा आएका सेवाग्राहीहरु समेत समस्यामा परेका छन् ।
तम्घासमा कठ्याङ्ग्रिने गरी जाडो बढेको छ । तम्घासमा त धेरै चिसो बढेछ’, कुर्घाबाट नागरिकता बनाउन बुधवार तम्घास आएका चिरञ्जीवी अर्यालले भने, सामान्य कपडामा हिंडडुल गर्नै गार्हो हुन थालेछ ।’ अर्याल जस्तै तम्घासमा बुधवार कामका लागि अन्य गाविसहरुबाट आएका सर्वसाधरणहरु बढी जाडोका कारण समस्यामा परेका देखिन्थे ।
तम्घासमा बढेको चिसासंगै जाडोका ताता कपडाको ब्यापार समेत बढेको छ । जिल्ला अस्पतालमा समेत चिसोका बिरामी बढ्न थालेका छन् । अस्पतालका डाक्टर किरण खनालले चिसोले अझै प्रकोपकै रुपमा बिरामी नदेखिएको भएपनि चिसो बढेको बताए । नीजि क्लिनिकहरुले भने बालबालिकाहरुमा निमोनिया देखिन थालेको जनाएका छन् ।
शहिद चोक स्थित पाण्डे फेन्सी पसल संचालक छवि पाण्डेले पछिल्लो दुइ दिनमा बढेको चिसोले ताता कपडाको ब्यापार बढाएको बताए । पसलमा आउने ९० प्रतिशत ग्राहक ताता कपडा खोज्ने छन’, उनले भने, गत वर्षहरुको तुलनामा यस वर्ष एक्कासी छिटो चिसो शुरु भएको छ ।’ कात्तिकको तेस्रो साताम बढी चिसो हुनुले तम्घासमा यस वर्ष अत्याधिक चिसो बढ्ने संकेत भएको उनले बताए ।