भियतनामी कामदारको छुरा प्रहारबाट एक नेपाली गम्भीर घाइते
क्वालालम्पुर , कार्तिक १८ - यहाँको निलाइस्थित सेपाङमा रहेको वाइएचएल म्यानुफ्याक्चरिङ कम्पनीमा कार्यरत एक नेपाली सोही कम्पनीमा कार्यरत भियतनामी कामदारको छुरा प्रहारबाट गम्भीर घाइते भएका छन् ।
काम गरिरहेको समयमा सामान्य विवाद हुँदा भएको सो घटनामा गोरखा घर भई उक्त कम्पनीमा कार्यरत करिब ३५ वर्षीय निलबहादुर घर्ती गम्भीर घाइते भएका हुन् । घाइते उनको हाल स्रेम्बानस्थित एक अस्पातालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको सोही कम्पनीमा कार्यरत इश्वर प्रधानले बताए ।
प्रधानका अनुसार गत शनिबार बिहान ७.३० बजे भएको सामान्य विवादले उग्र रुप लिएपछि एक भियतनामी कामदारले उनीमाथि छुरा प्रहार गरेका हुन् । छुरा प्रहारबाट घर्तीको पेटमा गम्भीर चोट लागेको थियो । सोही घटनामा परी नुवाकोट घर भएका रमेश दर्जी र धादिङ घर भएका नरमान गुरुङ सामान्य घाइते भएका छन् ।
प्रधानका अनुसार, घटनाको विषयलाई लिएर बुधबार बेलुका करिब ७ बजे प्रहरीले घटनामा संलग्न भएको भन्दै अन्य २१ जना नेपालीसहित ५ जना भियतनामी कामदारलाई नियन्त्रणमा लिएको छ । उक्त कम्पनीमा करिव दुईसय नेपाली कार्यरत छन् ।
स्रोत:कान्तिपुर