|

साउदीमा मासिक ४४ सय तलब बढ्यो

काठमाडौ, मंसिर ५ - वैदेशिक रोजगारको मुख्य गन्तव्यमध्ये एक साउदी अरबमा काम गर्न जाने नेपाली कामदारको न्यूनतम मासिक करिब ४ हजार ४ सय रुपैयाँसम्म बढेको छ । साउदीमा खाडीका अन्य मुलुकभन्दा सस्तोमा काम गर्दै आएका नेपालीले नयाँ व्यवस्था अनुसार यसअघिको भन्दा २ सय रियाल बढी पाउने छन् । प्रचलित विनिमिय दर अनुसार एक १ रियाल बराबर २२ रुपैयाँ छ ।

साउदीको राजधानी रियादस्थित नेपाली दूतावासले कामदारको न्यूनतम तलब बढाएको हो । दूतावासले यसअघिको न्यूनतम मासिक ६ सय रियाललाई बढाएर ८ सय रियाल (१६ हजार रुपैयाँ) पुर्‍याएको छ । यससँगै कामदारले खानबस्नका लागि थप २ सय रियाल पनि पाउने हुँदा न्यूनतम पारिश्रमिक झन्डै १ हजार रियाल (करिब २२ हजार रुपैयाँ) पुग्ने छ ।

'खान र बस्न बाहेक न्यूनतम ८ सय रियाल तोकिएको छ,' साउदीका लागि नेपाली राजदूत उदयराज पाण्डेले कान्तिपुरसित भने, 'यो व्यवस्था कार्यान्वयनमा आइसकेको छ ।' उनका अनुसार दूतावासले ८ सय रियालभन्दा कम तलब दिनेगरी मागपत्र ल्याउने कम्पनीलाई कामदार ल्याउन अनुमति दिन छाडेको छ ।

'साउदी आउने कामदारको न्यूनतम तलबमान निकै कम भयो । तलबमान कम हुँदा यहाँ भाग्ने प्रवृत्ति बढेर गयो,' उनले भने, 'यसले गर्दा समस्याहरू मात्रै बढेर गए ।' करार अनुसार तलब नपाउँदा र सस्तो तलब हुँदा कम्पनी छाडेर बाहिर काम गर्ने नेपालीको संख्या एक लाख नाघिसकेको छ । भागेर अन्यन्त्र काम गर्नेले मासिक २ हजार रियाल (४० हजार रुपैयाँ) कमाउने गरेका छन् । तर उनीहरूको काम र जीवनको सुरक्षा जोखिम भने बढी हुन्छ ।

साउदीमा सबैभन्दा बढी तलब फिलिपिनी नागरिकले पाउने गरेका छन् । उनीहरूको मासिक तलब न्यूनतम १२ सय रियाल (करिब २४ हजार रुपैयाँ) छ ।

दूतावासले अहिले बढाइएको रकममा पनि थप २ सय बढाउने तयारी गरेको छ । 'अब ८ सयबाट न्यूनतम नै १ हजार रियाल पुर्‍याउने तयारी गरेका छौं,' राजदूत पाण्डेले भने, 'त्यसका लागि साउदीको परराष्ट्र मन्त्रालयसमक्ष प्रस्ताव लिएर जाँदै छु ।' यो प्रस्ताव पारित भए खानबस्न सहित नेपालीले १२ सय रियाल पाउने छन् । यससँगै यो तलबमान खाडी मुलुकमा नेपालीले पाउने सबैभन्दा बढी पारिश्रमिक हुने छ ।

दूतावासले श्रम मन्त्रालयलाई दूतावासबाट प्रमाणित गरेको मागपत्रको आधारमा मात्रै श्रम स्वीकृति दिन अनुरोध गरेको छ । वैदेशिक रोजगार ऐनका अनुसार दूतावास वा नोटरी पब्लिक वा चेम्बर अफ कर्मसबाट प्रमाणित मागपत्रलाई मान्यता दिने व्यवस्था छ ।

फरेन इम्प्लोइमेन्ट एसोसियसनका अध्यक्ष प्रेम कटुवालका अनुसार साउदीमा कम तलब हुँदा कामदार पाउन समस्या भएको बताए ।
                                                                                                                                        स्रोत : कान्तिपुर 

Posted by Butwalonline on 7:58 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "साउदीमा मासिक ४४ सय तलब बढ्यो"

Leave a reply