|

फोक्सोसम्बन्धी रोग सीओपीडी

विभिन्न आकलनअनुसार, नेपालमा सीओपीडी अर्थात् फोक्सोसम्बन्धी पुरानो प्रतिरोधक रोगबाट तीन दशक नाघेका ५ प्रतिशत पुरुष र २.७ प्रतिशत महिला प्रभावित छन् ।
मुलुकमा उमेरले चार दशक नाघेकाहरूमा सीओपीडी देखिने गरेको छ । तर ९-१० वर्षको उमेरमै धूमपान गर्ने बानीले कहिलेकाहीँ ३० वर्ष नाघेकाहरूमा समेत सीओपीडी देखिन सक्ने चिकित्सकहरू औंल्याउँछन् ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आकलनअनुसार सन् २००४ मा विश्वभरि ६ करोड ४० लाख व्यक्तिलाई सीओपीडी थियो । यस्तै, सन् २००५ मा भने ३० लाख व्यक्तिको मृत्यु सीओपीडीका कारण भएको तथ्यांक छ । यो मृत्यु त्यस वर्ष भएको सबै मृत्युको ५ प्रतिशत हो ।
कम र मध्यम आयस्रोत भएका राष्ट्रमै सीओपीडीका कारण ९० प्रतिशत मानिसको मृत्यु भएको तथ्यांकले देखाएको छ । सीओपीडीको प्रारम्भिक कारण भने सुर्तीजन्य धुवाँ हो । आगामी एक दशकमा सीओपीडीबाट हुने मृत्यु हुनेको संख्या ३० प्रतिशतले बढ्ने अनुमान छ ।
'एकपटक तपाईंलाई सीओपीडी भएपछि यसबाट मुक्त हुन सक्नुहुन्न,' वरिष्ठ छाती रोग विशेषज्ञ डा. रमेश चोखानी भन्छन्, 'तर उपचारले धेरै सहयोग पाउन सकिन्छ ।'
बि्रटिस लङ फाउन्डेसनको तथ्यपत्रअनुसार धेरैजसो व्यक्तिमा धूमपान रोकेर सीओपीडी बढ्ने खतरा रोक्न सकिनुका साथै यसको बढ्ने प्रक्रियालाई मत्थर गर्न सकिन्छ । तर केही व्यक्तिमा अन्य कारणले सीओपीडी बढ्छ जसलाई रोक्नु कठिन हुन्छ ।
सीओपीडीको प्रयोग भिन्नभिन्न स्थितिमा गरिन्छ । पुरानो श्वासनलीको सुन्नाइ (क्रोनिक ब्रोङ्काइटिस), दम, इम्पिmसिम अर्थात् श्वासनली अवरोध भए यो उपयोग गरिन्छ । यस्तो हुँदा फोक्सोमा हावा आउने बाटोमा अवरुद्ध हुन्छु । यसले गर्दा नली साँघुरो र कडा हुन्छ अनि हावा भित्र पस्न र फोक्सोबाहिर जान बाधा उत्पन्न हुन्छ ।
यस्तै, ब्रोङ्काइटिसको अर्थ श्वासनलीको सुन्नाइ वा पोलाइ
हो । यो नलीले अक्सिजनलाई फोक्सोसम्म पुर्‍याउने काम गर्छ । यो सुन्नाइले गर्दा हावाको नलीमा श्लेष्मा (म्युकस) बढी मात्रामा निर्माण हुन्छ र कफ बन्छ । त्यसपछि तपाईं रुघाखोकीको संक्रमणमा पर्नुहुन्छ ।
इम्पिmसिम अर्थात् श्वासनलीमा अवरोध भएपछि फोक्सोमा हावा फैलिनाले श्वासनलीको जालोको तन्किने क्षमता गुम्छ । अनि हावाको बाटोमा अवरोध उत्पन्न हुन्छ र नली साँघुरो हुन्छ । यसको अर्थ, तपाईंको फोक्सोले शरीरमा अक्सिजनको आपूर्ति राम्ररी गर्न सकिरहेको हुँदैन । यसैले तपाईंलाई श्वास-प्रश्वासमा समस्या हुन्छ ।
डब्लूएचओका अनुसार सीओपीडीको कारक भनेको धूमपान नै हो । धूमपान छोडेपछि मात्रै यो समस्यामा क्रमशः कमी आउँछ । तपाईंलाई पहिलेदेखि नै सीओपीडी छ भने पनि यसको तीव्र वृद्धिमा कमी आउँछ ।
डा. चोखानीका अनुसार, प्रदूषित वातावरणमा काम गर्नाले पनि सीओपीडीको समस्या हुन सक्छ । भन्छन्, 'घरभित्र र बाहिरको वायु प्रदूषणले पनि यो रोग हुन सक्छ ।'
कोइला, धुलोमा काम गर्नुपर्ने बाध्यतासमेत यो रोगको कारण हुन सक्छ । अझ गाउँघरमा गुइँठा वा दाउरामा खाना पकाउनु, भान्साकोठामा धुवाँको उचित निकास नहुनुले समेत सीओपीडी देखिन सक्छ । डा. चोखानीका अनुसार परोक्ष धूमपानसँगै पुख्र्यौली कारणले समेत यो समस्या आउन सक्छ । यसबाहेक जिन, बाल्यकालको छातीमा संक्रमण, क्षयरोग लगायतले गर्दा समेत सीओपीडीको जोखिम
रहन्छ ।
अमेरिकन थोरासिक सोसाइटीका अनुसार कफ, सिँगान, सास फेर्न अप्ठ्यारो हुनु सीओपीडीका कारण हुन सक्छन् । खोक्नु, घाँटी घ्यारघ्यार गर्नु, सास फुल्नु आदि यो रोगका प्रमुख लक्षण हुन् ।
केही व्यक्तिमा यास्ता लक्षण भने चिसो मौसममा मात्र पाइने गरेको उल्लेख गर्दै डा. चोखानी भन्छन्, 'यसको उपचार जति छिटो गर्न सकिन्छ, त्यति नै राम्रो मानिन्छ ।' सीओपीडीको सामान्य समस्या भएकाहरूमा कफ, श्लेष्मा वा सासमा कमीजस्ता समस्या चिसो याममा वा रुघाखोकीपछि देखिन्छ । कडा अवस्था भए यो समस्या दिनहँुसमेत देखिन सक्छ । अझ बढी कडा अवस्थामा सास फेर्न नसक्नाले सामान्य काममा समेत धेरै समस्या हुन्छ ।
यो रोग ठम्याउने राम्रो उपाय 'स्पाइरोम्याट्री' नामक परीक्षण हो । फोक्सोको काम गर्ने क्षमतासम्बन्धी यो परीक्षण छाती रोग विशेषज्ञसँग गराउन सकिन्छ । 'यो परीक्षण अन्तर्गत एउटा मेसिनमा मुखले मात्र हावा फुक्नुपर्छ,' डा. चोखानी भन्छन्, 'यसबाट श्वासनली कति साँघुरो छ भन्ने जानकारी पाइन्छ ।'
उपचार
सीओपीडीका लागि भने कुनै उपचार उपलब्ध छैन । तर, यसको लक्षणलाई कम गर्न विशेषज्ञले धेरै सहयोग गर्न सक्छन् । 'सीओपीडीले तपाईंको फोक्सोमा पुर्‍याएको नोक्सानलाई निको पार्न सकिँदैन र यसको कुनै उपचार छैन,' चोखानी भन्छन्, 'तर विशेषज्ञको सहयोगले रोगलाई मत्थर गर्न सकिन्छ ।' 
धूमपान त्याग्दा कफ र श्लेष्माको स्थितिमा सुधार गर्न सघाउ पुग्छ । कम तौल, सन्तुलित र पौष्टिक भोजन र सक्रिय जीवनयापनले समेत धेरै फाइदा पुग्छ ।
श्वाससम्बन्धी समस्या भएकाहरूका लागि भने ब्रोङ्काडाइलेटरले फाइदा
पुर्‍याउँछ । यो एक प्रकारको सुँघ्ने औषधि हो जसले श्वासनलीलाई फैलाउँछ । 'सँुघ्ने औषधि उपयोग गर्दा लत पर्ने गलत बुझाइ हाम्रो समाजमा छ,' चोखानी भन्छन्, 'खाने औषधि सकेसम्म कम लिनुपर्छ, सुँघ्ने औषधि नै रोज्नुपर्छ ।' सुँघ्ने वैज्ञानिक तरिकाबारे भने चिकित्सकीय परामर्श लिनुपर्ने उनी सुझाउँछन् । नेब्युलाइजरबाट औषधिको बढी मात्रा दिन सकिन्छ जो सुँघ्ने औषधिजस्तै प्रभावकारी हुन्छ ।
यस्तै, सीओपीडीमा एक्कासि दमको तीव्र आक्रमण हुँदा चिकित्सकले छोटो समयका लागि स्टेराइड औषधि दिन्छन् । धेरै लामो समयसम्म स्टेराइड लिनु हानिकारक पनि हुन सक्ने चेतावनी दिँदै चोखानी भन्छन्, 'एकदुई साताको एट्याकको लागि भने यो धेरै उपयोगी हुन्छ ।' स्टेराइडबारे आफूखुसी निर्णय लिनु हुन्न । छाती रोग विशेषज्ञको परामर्श अनुसार नै औषधिको मात्रा र अवधि रोज्नुपर्छ ।
यस्तै, जाडो याममा रुघाखोकी, पmलूविरुद्घको खोप लिनु लाभदायक हुन्छ । यसले सीओपीडीको एट्याकबाट जोगाउँछ । हाल एन्टिकोलोनर्जिक औषधिलाई समेत सुरक्षित मानिँदै आएको छ ।
व्यायाम
सीओपीडी रोगीले व्यायाम गर्नु आवश्यक हुन्छ । 'उनीहरूले अलिकति हिँड्दै सास फुल्छ भनेर हिँड्न छोड्नु हुन्न, मज्जाले हिँड्नुपर्छ,' चोखानी भन्छन्, 'आधा घन्टादेखि ४५ मिनेटसम्मको व्यायाम राम्रो मानिन्छ ।' श्वास- प्रश्वाससम्बन्धी तीव्र समस्यालाई व्यायामले पनि सघाउँछ । यस्तै श्वासको व्यायाम गर्न ट्राई पmलो डिभाइस जस्ता उपकरण उपयोग गर्न सकिन्छ ।
अक्सिजन थेरापी
फोक्सोको क्षमता कम हुँदाहँुदै यस्तो अवस्थासमेत आउन सक्छ, जसमा फोक्सोले शरीरलाई चाहिने आवश्यक अक्सिजन लिन सक्दैन । सीओपीडीले ग्रस्त केही व्यक्तिको रगतमा अक्सिजनको कमी हुन्छ । यस्तो स्थितिमा भने उनीहरूले घरमै बसेर अक्सिजन लिनुपर्ने हुन्छ । यस्तो गरिएन भने रोगीको हार्ट फेलको सम्भावना हुन्छ । अक्सिजन दिँदा जीवन अवधि बढ्छ ।
'मैले देखेका केही रोगी ५-७ वर्षदेखि अक्सिजन थेरापी लिइरहेका छन्, उनीहरूको जीवनशैली धेरै राम्रो छ,' चोखानी भन्छन्, 'कतिपय रोगीले भने जीवनपर्यन्त अक्सिजन लिनुपर्ने स्थिति हुन सक्छ ।'
राम्रो प्रतिक्रियाका लागि एक दिनमा १५ घन्टासम्म अक्सिजन लिनुपर्छ । तर अक्सिजनको मात्रा (रेट अफ पmलो) भने दुईतीन लिटरभन्दा बढी हुनु हुँदैन । कतिपय व्यक्तिले आफूलाई पुगेन भनेर यो दर ५-६ लिटरसम्म पुर्‍याउँछन्, जसले क्षति पुर्‍याउन सक्छ ।
हवाईजहाज वा अग्लो स्थानमा चिकित्सकको परामर्शपछि मात्र जाने सीओपीडीका बिरामीहरूले हवाई जहाजमा यात्रा गर्नुअघि चिकित्सकसँग परीक्षण
गराउनुपर्छ । 'सतहभन्दा जहाजमा अक्सिजनको स्तर कम हुने भएकाले यसो गर्नुपरेको हो,' चोखानी भन्छन्, 'चिकित्सकीय परामर्शपछि मात्र हवाई यात्रा गर्नु उचित हुन्छ ।' उच्च पहाडी क्षेत्रमा जाने बेलामा समेत यस्तो परीक्षण र परामर्श आवश्यक हुन्छ । 'हामी मोडरेट वा सीओपीडीका रोगीहरूलाई उच्च लेक क्षेत्रमा जान अनुमति दिँदैनौं,' उनी उल्लेख गर्छन् ।
                                                                                                                                        साभार :कान्तिपुर 

Posted by Butwalonline on 8:07 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "फोक्सोसम्बन्धी रोग सीओपीडी"

Leave a reply