|

नेपालका गर्भवतीलाई दिन क्लिन्टनले थालिन् पुराना मोबाइल संकलन

मणि दाहाल, काठमाडौं, कात्तिक ८- नेपाल र कंगोका गर्भवतीको स्वास्थ्यमा सघाउन अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टन तथा वर्तमान विदेशमन्त्री हिलारी क्लिन्टनकी छोरी चेल्सीले अभियान चलाएकी छन्। उनलाई पूर्व सुपरमोडल क्रिस्टी टर्लिङटोन बर्न्सले साथ दिएकी छन्।


भ्वाइस अफ अमेरिकाका अनुसार यसका लागि उनीहरूले वासिङटन डिसीस्थित जर्ज वासिङटन विश्वविद्यालयमा मंगलबार पुराना मोबाइल फोन संकलन थाले। अभियानले यस्ता मोबाइल फोनमा सफ्टवेयरमार्फत मातृ तथा शिशु स्वास्थ्यसम्बन्धी जानकारी राखेर नेपालका ग्रामीण भेगका गर्भवतीलाई उपलब्ध गराउनेछ।

चेल्सी आफ्ना पिताले स्थापना गरेको 'क्लिन्टन वर्ल्ड इनिसिएटभ्स'की कार्यकारी सदस्य हुन् भने क्रिस्टी बालस्वास्थ्य क्षेत्रमा काम गर्दै आएको 'एभ्री मदर' नामक गैरसरकारी संस्थासँग आबद्ध छिन्।

'न्यून मूल्यमा नयाँ मोबाइल किनेर त्यसमा स्वास्थ्य सेवाका जानकारीयुक्त नयाँ सफ्टवेयर जडान गरेर वितरण गरिने' समाचारमा उल्लेख छ।

अफ्रिकी मुलुक कंगोमा पनि नेपालमै जस्तो अभियान चलाउने योजना बनाएका यी संस्थाले अभियानबाट दुवै देशका गरी कम्तीमा ५० लाख आमा लाभान्वित हुने जनाएका छन्।

अभियानमा सघाइरहेको 'होप फोन्स'की व्यवस्थापक टिर्ने ओडियाले कन्सास इन्फोजिन डटकमसँग भनेकी छन्, 'सस्तो नयाँ मोबाइलमा प्रविधि जडेर उपलब्ध गराउनेछौं।' उनले यसबाट स्वास्थ्यकर्मीसँग बिरामीलाई कुरा गर्न सहज हुने बताएका छन्।

फोनमा जडिने सफ्टवेयरमा ग्रामीण क्षेत्रका महिला, परिवार, समाज र स्वास्थ्यकर्मीलाई समेत काम लाग्ने जन्म, गर्भावस्थाका उच्च जोखिम तथा गम्भीर समस्यामा आपतकालीन सेवाबारे सूचना राखिने अभियानले जनाएको छ।

ओडियाका अनुसार होप फोन्सको प्रमुख उद्देश्य आमाको जीवन तथा प्रजनन् स्वास्थ्यको सुरक्षा सन्जाल बनाउनु हो।

अभियानले १५ हजार मोबाइल फोन संकलन गरिसकेको कन्सास इन्फोजिन डटकमले जनाएको छ।

अभियानकर्ताले दानस्वरुप संकलन गरिएका महँगा मोबाइल सेट बेचेर सस्ता धेरै संख्याका सेट खरिद गरी वितरण गर्ने योजना बनाएका छन्। उनीहरूले स्मार्ट फोनबाट ५ देखि २० वटा नयाँ मोबाइल फोन बनाउन सकिने बताएको भ्वइस अफ अमेरिकाले लेखेको छ। मार्चसम्म लक्ष्य पूरा गर्ने अभियानको लक्ष्य छ।

क्लिन्टनले सन् २००७ मा स्थापना गरेको क्लिन्टन ग्लोबल इनिसिएटिभ्सको मार्चमा सम्मेलन हुँदैछ। 'प्रत्येक व्यक्तिले केही फरक गर्न सक्छन् र गर्नुपर्छ,' अभियानको शुभारम्भ भाषणमा चेल्सीलाई उद्धृत गर्दै वासिङ्टन विश्वविद्यालयको वेबसाइटले लेखेको छ, 'त्यो दायित्व पूरा गर्न सफा उद्देश्यका साथ काम गरे पूरा गर्न नसकिने चुनौती होइन।'
पूर्व मोडल टर्लिङटोन बर्न्सले पनि सबैले मतभिन्नता फाल्दै यस्तो अभियानमा सघाउनुपर्ने
बताइन्।

उनले भनिन्, 'बालबालिकालाई बचाउने सबैभन्दा राम्रो उपाय आमा तथा आमा बन्नुभन्दा अघिका केटीमा लगानी हो।'

यो अभियानलाई अमेरिकाका एबिसी न्युज च्यानल र राष्ट्रसंघीय फाउन्डेसनले पनि सहयोग गर्ने जनाइएको छ।
साभार :नागरिक न्युज 

Posted by Butwalonline on 8:14 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "नेपालका गर्भवतीलाई दिन क्लिन्टनले थालिन् पुराना मोबाइल संकलन"

Leave a reply