|

चारबुँदे विरोधीलाई मधेसबाट बढारिने छ : यादव

काठमाडौं, असोज २१- एकीकृत माओवादी स्थायी समिति सदस्य देवप्रसाद गुरुङले प्रधानमन्त्री बाबुराम भट्टराईको विकल्प नखोजिने बताएका छन्। राष्ट्रवादी धारलाई एक ठाउँमा ल्याएर वर्तमान सरकारलाई नै बलियो बनाउनुपर्ने धारणा उनले अघि सारे।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको साक्षत्कारमा नेता गुरुङले वर्तमान माओवादी नेतृत्वको सरकारको विकल्प नरहेको भन्दै उनले अहिले हाम्रो यही सरकारलाई समर्थन छ, बाबुराम भट्टराईको विकल्प खोज्नेतर्फ गएका छैनौं।' सरकार गठनका क्रममा एमाओवादी र मधेसी मोर्चाबीच मध्यरातमा भएको चरबुँदे सहमतिको परिमार्जन, परिष्कृत तथा पुनरावलोकन गर्दै अघि बढ्नुको विकल्प नरहेकोले प्रधानमन्त्री बाबुरामप्रति अविश्वास गरिहल्नुपर्ने अवस्था नरहेको प्रष्ट्याउँदै नेता गुरुङले यदि चारबुँदा नसच्चिए सरकारको विकल्प खोज्न पछि नपर्ने चेतावनी दिए।

कार्यक्रममा राष्ट्रिय स्वाधीनता, क्षेत्रीय अखण्डता र सार्वभौमसत्तासँग जोडिएका विवादास्पद चारबुँदे सहमति सच्चाउनुपर्ने नेता गुरुङले उल्लेख गरे। उनले हामीले चारबुँदे नयाँ शिराबाट सच्याउन संस्थापन पक्षलाई दबाब दिएका छौं, यो सच्चिने विश्वास गर्छौँ।' वर्तमान सरकारको कडा आलोचकका रुपमा देखिँदै आउनुभएका नेता गुरुङ आज भने अप्रत्यासित रुपमा सरकारप्रति नरम रुपमा प्रस्तुत भए।

माओवादी र मधेसी मोर्चाबीच इतिहासमा नभएको बेठिक चारबुँदे सहमति भएको बताएका माओवादी नेता गुरुङले दुई दलबीच सत्तासमीकरणका लागि भएको सहमतिमा छिमेकी राष्ट्रसंग भएका सन्धी-सम्झौता समेटिएकोमा आपत्ति जनाए। उनले दुई मुलुकको चासोका बिषय कुनै राजनीतिक दलका सहमतिमा समावेश हुनु अत्यन्तै गलत रहेको दाबी गरे।

प्रधानमन्त्री बाबुराम भट्टराईलाई हटाएर माओवादीको वैद्य समूह, कांग्रेस र एमालेबीच अर्को नयाँ सरकार बनाउने तयारी भएको छ नि? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता गुरुङले भने, 'हामी आफैँले बनाएको सरकार हो, यसलाई हटाउन वा अर्को विकल्प खोज्ने काम भएको छैन, यो गलत हल्ला हो।'

साक्षात्कारमा उद्योगमन्त्री एवं तमलोपा नेपालका अध्यक्ष महेन्द्रप्रसाद यादवले सरकार गठनका क्रममा भएको चारबुँदे सहमति कुनै पनि हालतमा संशोधन नहुने बताए। उनले भने, 'चारबुँदे राष्ट्रियताविपरित छैन, यो कुनैपनि हालतमा परिवर्तन हुँदैन।' उनले भने, 'चारबुँदेको विरोध गर्ने कांग्रेस, एमाले तथा एमाओवादीको वैद्य समूहको तराईमा तीब्र प्रतिकार गर्नेछौं। चारबुँदेजस्तो राष्ट्रवादी सम्झौता ऐतिहासिक छ, यो न पहिले कसैले गर्न सक्यो न अब गर्न सक्नेछन्, तसर्थ यसको विरोध गर्नेहरु आफैं समाप्त हुनेछन्।'

बाबुराम भट्टराई नेतृत्वको सरकारले शान्ति र संविधानमा पूर्णरुपमा काम गर्ने बताउने बताएका मन्त्री रायले कांग्रेस र एमाले पनि यही सरकारमा आउनुपर्ने र आउनुको विकल्प नभएको दाबी गरे। यही सरकारमा यदि उनीहरु आउन तयार भए आफूहरु मन्त्रालयको कोटा खाली गरिदिन पनि तयार रहेको उनले बताए।

Posted by Butwalonline on 9:51 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "चारबुँदे विरोधीलाई मधेसबाट बढारिने छ : यादव"

Leave a reply