तातेको लुम्बिनी !
अखण्ड भण्डारी |
मलेसियन टुरिजम बोर्डका अध्यक्षसमेत रहेका भिक्टरसहितको समूहले लुम्बिनीको बृहत् विकासका लागि सरकारमा प्रस्ताव बुझाएको महिनौं बितिसक्यो । त्यो कागज मन्त्रालयमा कतै कुहिरहेको होला माओवादी अध्यक्ष पुष्पकमल दाहालले हालै मलेसिया जाँदा उनलाई समेत भेटेछन् । र, र्फकनासाथ भने पनि, 'लुम्बिनी विकास सम्भव छ किनभने मलेसियाका एयर एसिया र शाक्यमुनि बुद्ध फाउन्डेसन पनि लगानी गर्न तयार छन् ।' रीत पुर्याएरै लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य पूर्वाधार तयार गर्न कस्सिएको समूहका हर्ताकर्ता उनै भिक्टर हुन् यतिबेला भने चीनमा मुख्यालय रहेको एसिया प्यासिफिक एक्सचेन्ज एन्ड कोअपरेसन फाउन्डेसन -एपेक) को लुम्बिनीबारे गतिलै घोषणा चर्चामा छ । सम्भवतः एपेक धनी संस्था होइन तर माथि नाम लिएकाजस्तै धनी व्यक्ति वा संस्था जुटाउने उसको सुर हुन सक्छ । उसका पदाधिकारी धमाधम आउन थालेका छन् र ताइवानको अर्को संस्थासँग लुम्बिनीमा अत्याधुनिक सञ्चार सेवा विकासको सम्झौता नै गरिसकेका छन् । प्रश्न आउँछ- उनीहरूले लुम्बिनीको विकास गर्छु भन्न पाउने कि नपाउने ? इच्छुकबाट रकम जुटाउन मिल्ने कि नमिल्ने ? के साँच्चै ३ अर्ब अमेरिकी डलरको विकास यहाँ आउला ? आइगयो भने ल्याउन मिल्ने कि नमिल्ने ?
लुम्बिनी विश्वसम्पदा सूचीमा परेको स्थल हो । यो विभिन्न देशमा पुगेको बुद्ध धर्मका प्रवर्तक गौतम बुद्धको जन्मस्थल हो । करोडौं बुद्ध धर्मावलम्बीका लागि पवित्रस्थल हो । विश्वभरि बुद्ध धर्मावलम्बीको संख्या १ अर्बभन्दा बढी छ । थाइल्यान्ड र कम्बोडियामा क्रमशः ९५, जापान र म्यानमारमा ९०, लाओस ७५, श्रीलंकामा ७०, चीन र ताइवानमा ५० प्रतिशत बुद्ध धर्मावलम्बी छन् । नेपालमा यो धर्मावलम्बीको संख्या १० प्रतिशतभन्दा कम छ ।
बुद्ध जन्मेको देशमै यो धर्म मान्ने व्यक्ति कम भएकाले जन्मस्थलले महत्त्व नपाएको हो । अघिल्लो संविधानको कार्यकालसम्म हाम्रो देश घोषित 'हिन्दु धार्मिक' थियो । अरू धर्मप्रति राज्यको नजर नपरेकैले लुम्बिनी ओझेलमा रहेको रह्यै भयो ।
मानौं ९५ प्रतिशत बुद्ध धर्मावलम्बी भएको देश थाइल्यान्डका नागरिकका लागि सबैभन्दा पवित्रस्थल कहाँ हो ? निर्विकल्प लुम्बिनी । तर, उनीहरू ओइरिएर आए भने थाम्ने पूर्वाधार लुम्बिनीमा छ त ? अहँ, छैन । त्यसो भए के उनीहरूलाई अझै नआऊ भन्ने ?
लुम्बिनी हाम्रो भूमि हो । तर, यो अन्तर्राष्ट्रिय सम्पत्ति हो । स्वामित्व हामीमा छ । तर, यसको माया संसारभरिलाई छ । यससँग संसारभर धर्मको सम्बन्ध छ । धर्म त्यस्तो शक्ति हो जसलाई जित्ने कहीँ केही छैन । ठूलठूला दान, ज्ञान, विकास मात्र होइन, युद्ध पनि धर्मकै नाममा हुन्छन् । मानौं, तपाईं स्कुल बनाउन २ हजार रुपैयाँ चन्दा दिँदा दाँतबाट पसिना निकाल्नुहुन्छ भने मन्दिर, गुम्बा, मस्जिद वा चर्च बनाउन मन खुसी बनाएरै १० हजार फाल्न सक्नुहुन्छ ।
त्यस्तै मनकारीहरू जुटे पनि लुम्बिनीका लागि ३ अर्ब अमेरिकी डलर आउन ठूलो कुरै होइन । हाम्रा लागि पो त्यो वाषिर्क बजेटको आधाभन्दा धेरै हो । म्यानमारबाट प्रतिनिधित्व गरेका राष्ट्रसंघीय महासचिव उ थान्तले सन् ७० को दशकमा लुम्बिनी विकासको व्यापक पहल गरेका थिए । उनले जापानी योजनाकार केन्जो टाँगेलाई पठाएर गुरुयोजनासमेत बनाउन लगाए । उ थान्तको कार्यकाल सकियो, गुरुयोजना पनि सेलायो । तीन-चार दशकदेखि बाँदरले नरिवल खेलाएजस्तो त्यही योजना ओल्टाइपल्टाई गरेर हामी बसेका छौं । विदेशीले चासो राख्यो भने राजनीतिक नजरले हेर्छौं । चीनले पहिल्यै भनेको संसारकै अग्लो बुद्ध मूर्ति बनाउन ८ अर्ब रुपैयाँ दिने प्रस्तावदेखि जापानले छुट्याएको १२ अर्ब रुपैयाँसम्म हाम्रै झगडा र बेवास्ताले आउन सकेनन् । हामी आउने बाटो थुन्छौं, आफैं पनि केही गर्दैनौं ।
जो सत्ता वा पदमा पुग्छ, उसले ओठे शैलीमा 'लुम्बिनी-लुम्बिनी' भनेर पुकार्छ । कसले के भन्छ, ऊ पछि हट्छ वा कागज कुम्लो पारेर बस्छ । अर्को आउँछ, त्यसै गर्छ । अहिले भने साँच्चै सोच्ने बेला आएको छ । हामीले खेलाँची गर्यौं भने 'लुम्बिनी' अन्यत्रै बन्न सक्छ । झगडामा अल्भिmयौं भने लुम्बिनीमा चासो राख्नेहरू अन्यत्रै मोडिन सक्छन् । बुद्ध अन्यत्रै जन्मेका थिए भनेर शक्ति, बुद्धि र धन पिटेर कसैले संसारभर हावा चलायो भने हामी ट्वाँ पर्न सक्छौं ।
शिवजीको मूर्ति हेर्न पशुपतिभन्दा साँगाको डाँडामा भीड बढ्न थालिसक्यो किनभने त्यहाँ आकर्षक मूर्ति बनाइयो । वरिपरि एक-दुई घन्टा अल्मलिने सेवासुविधा जुटाइयो । शिवलिङ्ग दर्शन गर्न जाने पशुपति क्षेत्रमा भने अँगालो मार्न पनि प्रतिबन्ध लाउन थालियो । पुङ न पुच्छरको संकीर्णताले पशुपति पछि पर्दै गयो, त्यहाँको तलतल साँगाले मेटाइदिन थालिसक्यो । त्यसैगरी छायाँ-लुम्बिनी अन्यत्रै बन्यो भने बुद्ध धर्मावलम्बी दुःख गरी-गरी रूपन्देही पुगिरहन्छन् भन्न सकिँदैन । भौतिक र पर्यटन विकास अर्कैतिर हुन्छ । हामी 'लुम्बिनीमा बुद्ध जन्मेका थिए' भन्दै किताब पढेर बस्छौं । त्यसैले बुद्धि पुर्याउने बेला यही हो ।
हामी झगडामा तगडा छौं । कसको कहाँ के गल्ती होला भन्दै लेन्स लगाएर हेरिरहन्छौं । उल्टो कुरा गर्ने ठाउँ पायौं भने खेदो गरेको गर्यै गर्छौं । त्यसले सधैं भलो गर्दैन । लुम्बिनी पनि अहिले त्यस्तै रोगको सिकार हुने अवस्थामा पुगेको छ । एपेक वा सेपेक- कसैले पनि हाम्रो देशमा विकास गर्न चाहन्छ भने बोलाऔं, बुझौं र रीत पुर्याएर आऊ भनी स्वागत गरौं । बरु ढिला नगरौं !
साभार:कान्तिपुर