|

बालिकाको सिउँदोमा सिन्दुर

कृष्ण मल्ल,मर्चवार (रुपन्देही), २७ साउन ।रुपन्देहीको बोगडी गाविस वडा नं. ४ निवासी प्रभावती बढईको विहे भएको एक साल भयो । भर्खर ११ वर्ष टेक्दै गरेकी बढईको सिउँदोभरि सिन्दुर छ । कुर्ता सुरुवालमा भेटिएकी उनले दैनिकजसो सिन्दुर लगाउने गरेकी छिन् । सहज रुपमै उनले भनिन्– “यहा“ विहे भएका सबैले लगाउँछन्, मेरो पनि विहे भयो, लगाएँ ।”
सोही गाउँकी मन्ना हरिजनको विहे भएको पाँच वर्ष पुग्यो । १३ वर्षमा हिंड्दै गरेकी हरिजन पनि सिन्दुर लगाएकी अवस्थामा भेटिन्छिन् ।  घरमा रहँदा त्यति महत्व नदिने सिन्दुर उनले बजार र घर बाहिर जाँदा अनिवार्य जस्तो लगाउँछिन् ।

प्रभावती र मन्ना मात्रै होइन सरोजा कोरीको पनि चार वर्षअघि विहे भैसकेको छ । १४ वर्षकी सरोजा पनि सिन्दुर लगाएकै अवस्थामा भेटिन्छिन् । उनका श्रीमान् वैदेशिक रोजगारमा मलेसियामा छन् । सरोजाको यसै वर्ष तुफानी कोरीसँग गौना हँुदै छ । सरोजाका अनुसार तुफानी यस वर्ष विदेशबाट घर फर्कंदै छन् । त्यसो त १२ वर्षकी शकुन्तला लोध पनि विवाहित बालिका हुन् । सिउँदोभरि रातै सिन्दुर लगाएकी शकुन्तलाले भनिन्– “हाम्रो गाउँमा सानैमा विहे गर्ने, सिन्दुर लगाउने चलन छ ।” स्थानीय जानकारका अनुसार यस समुदायमा विहे भए पनि गौना नहुँदासम्म चेली माइतमै बस्ने चलन छ । श्रीमान्सँग भेट हुने, कुराकानी गर्ने गर्दैनन्, केटा पनि विहे भएको गाउँमा जाने चलन हँुदैन । तर विहे भएपछि जुनसुकै बेला उनीहरुको गौना हुन सक्छ । गौना भएपछि भने श्रीमान्को घरमा घरजमको लागि जानु पर्छ । तर, आजकल भने सञ्चारको सुविधाका कारण गौना नहँुदै कुराकानी हुने र भेटघाट हुने क्रम सुरु भएको छ । सरोजा कोरीका श्रीमान् वैदेशिक रोजगारमा मलेसियामा छन् । चार वर्षअघि विहे भएकी १४ वर्षकी सरोजाको विदेशमा रहेका श्रीमान्सँग कहिलेकाहीँ मोबाइलमा कुराकानी हुन्छ । हातमा मोबाइल बोकेकी सरोजाले लाज मान्दै भनिन्– “मर्द से मोबाइलमे बात होई ।”

सरकारी तथा गैरसरकारी संस्थाले बालविवाह विरोधी कार्यक्रम संचालन गरे पनि यस क्षेत्रमा बालविवाहमा कमी आएको छैन । अझै पनि बढई, हरिजन, लोध, गुप्ता, चौधरी लगायतका जातिमा बालविवाह जारी छ । बालविवाहले सामाजिक मान्यता पाएको छ । सामाजिक रुपमा उनीहरुले प्रतिरोध गर्न सक्दैनन् । बालविवाहलाई कानुनले बन्द गरेको भन्ने थाहा हुँदाहँुदै पनि उनीहरु एकातिर कानुन र अर्कोतिर समाजसँग डराइरहेका छन् । स्थानीय विजय कुमार पाठकले भने– “यो यहाँका समुदायको बाध्यता पनि हो ।” उनले प्रतिप्रश्न गरे– “सबै केटाकेटीको सानैमा विहे भयो भने ठुलो भएपछि कोसँग विहे गर्ने ?
कानुनमा बालविवाहलाई रोक लगाइए पनि यहाँका समुदायमा बालविवाह हुन रोकिएको छैन । न त उजुरी परेको छ, न त दण्ड सजाय नै पाएका छन् कसैले । पुनरावेदन अदालत बुटवल बारका पूर्वअध्यक्ष महेन्द्र पाण्डेका अनुसार स्वेच्छाले विहे गर्न कानुनमा केटाकेटीको उमेर २० वर्ष र संरक्षकले गरि दिँदा केटाकेटीको उमेर १८ वर्ष हुनु पर्छ । उनले समाजमा बालविवाह भएको सुनिए पनि अदालतमा उजुरी परेको घटना भने जानकारीमा  नआएको बताए । “बालविवाह गर्ने गराउनेलाई उमेर अनुसार फरक फरक खालको दण्ड सजायको व्यवस्था कानुनमा छ”, पाण्डेले भने ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दा बुटवलका निर्देशक डा. विनोद पराजुली सानै उमेरमा बच्चा जन्माउँदा आमा र शिशुको स्वास्थ्यमा खतरा हुने बताउँछन्  । “उमेर परिपक्व नहुँदासम्म बच्चा जन्माउनु खतरा हो । यसमा मातृशिशु मृत्युदर बढी हुन्छ”, डा.पराजुलीले भने । स्थानीय सामाजिक कार्यकर्ता मदन प्रजापतिले बालविवाह यहाँको सामाजिक संस्कार भएको हुँदा तत्कालको लागि गौना ढिला गर्ने मात्र एक उपाय हुन सक्ने बताए । जिल्ला शिक्षा कार्यालय अन्तर्गत बेतकुइयाँका स्रोत व्यक्ति सालिकराम शर्माले सचेतना र शिक्षा जरुरी भएको बताए ।साभार:दैपस

Posted by Butwalonline on 10:57 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0. Feel free to leave a response

0 comments for "बालिकाको सिउँदोमा सिन्दुर"

Leave a reply